काठमाडौँ – एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो पाकिस्तानसँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । पाकिस्तानको जितमा मुहम्मद तैयब ताहिरले ५१ रनको योगदान गरे । कमरान घलमले ३१ रनको योगदान गरे । सइम अयुबले २४ रन बनाए । नेपाली टोलीका बलर ललित राजवंशीले तीन, पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको थियो । नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाएका थिए । नवौं नम्बरमा क्रिज समाल्न आएका सोमपालले ७५ रनको योगदान गरे । उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका पनि हिर्काएका थिए । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।
प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । आसिफ शेख १२, अर्जुन साउद १७, कुशल मल्ल १७ र गुल्सन झा १३ रनमा आउट भए । ललित राजवंशी एक रनमा अविजित रहे ।