थलारा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि सार्वजनिक गर्‍यो निति तथा कार्यक्रम

बझाङ – बझाङको थलारा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गते प्रस्तुत हुन नसकेको पालिकाको वार्षिक निति तथा कार्यक्रम र बजेट मंगलबार सार्वजनिक गरिएको हो । थलारा गाउँपालिकाको ११ औँ गाउँसभामा पालिका अध्यक्ष प्रकाश बहादुर रोकाया आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे भने, गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीले आर्थिक वर्ष २०८०/०८१ का लागि ५१ करोड २० लाख ४६ हजार ९ सय रुपैयाँ बजेट प्रस्तुत गर्नु भएको थियोे। जसमा संघीय सरकारको वित्तीय समानिकरण अन्तर्गत प्राप्त १० करोड ४० लाख सशर्त अनुदान तर्फ १९ करोड ८४ लाख ३६ हजार विशेष अनुदान तर्फ ६५ लाख समपुरक अनुदान तर्फ ५० लाख राजस्व बाडफाँड तर्फ ८ करोड १७ लाख ८१ हजार ९ सय बजेट सुनिश्चितता गरिएको छ । त्यस्तै प्रदेश सभाबाट वित्तीय समानिकरण अन्तर्गत ९० लाख १ हजार समपुरक अनुदान २७ लाख राजस्व बाडफाँड १५ लाख ६३ हजार आन्तरिक आयस्रोत ४२ लाख, प्रधानमन्त्री स्वरोजगार तर्फ ५८ लाख ६४ हजार र सामाजिक सुरक्षा तर्फ ९ करोड १५ लाख बजेट सुनिश्चितता गरिएको छ ।
पालिकाले अधिकांश रुपमा विगतकै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । भने केही नयाँ निति कार्यक्रम पनि ल्याएको छ । जसमा शिक्षा कृषि,पर्यटन र पूर्वाधार ,स्वास्थ्य लाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट तयार पारेको प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले बताउनुभयो । पालिका पहिलो प्राथमिकतामा शिक्षालाई राखिएको छ जसमा प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुनेछ भन्ने संविधान प्रदत्त मौलिक हकको पुर्ण कार्यान्वयनको लागि विद्यालय उमेर समुहका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यलाई प्रोत्साहनमुलक कार्यक्रम सहित अभियानका रुपमा संचालन गरिने भएको छ यस्तै गरिव, विपन्न तथा जेहेन्दार छात्र छात्रालाई दिदै आएको प्राविधिक शिक्षामा पुर्ण छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिदै थप विस्तार गरिनेभएको छ । त्यस्तै पालिका भित्रका आमा/बुवा दुवै गुमाएका टुहुरा वालकालिकालाई निःशुल्क पठन पाठनको व्यवस्था गरी पालिकाले अभिभावकत्व ग्रहण गर्ने नीतिलाई थप विस्तार गरी प्रभावकारी बनाईने छ । साथै आमा बुवा दुवै विहिन (एसईई) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थी(एक छात्र/एक छात्रा)लाई उच्च शिक्षा अध्ययन गर्न पुर्ण छात्रवृत्तिको व्यवस्था गरिने भएको छ । थलारा गाउँपालिका भित्र विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई प्रष्फुटन, पहिचान र उपयोग गर्न पालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाईने छ ।
साथै शिक्षकहरु भित्र रहेको प्रतिभाको पहिचान गर्न बर्षको १ पटक शिक्षक प्रतिभा पहिचान कार्यक्रम समेत सञ्चालन गरिने भएको छ । शिक्षकहरूको क्षमता विकास र वृत्ति विकासका लागि विभिन्न पेशागत तथा पुनर्ताजगी तालिमको  व्यवस्था गरी शैक्षिक गुणस्तरमा सुधारको नीति अवलम्बन गरिने छ । महिनावारीका कारण विद्यालय छोड्ने अवस्थालाई मध्यनजर गरी सेनिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिदै थप प्रभावकारी बनाईने छ । महिनाको कम्तिमा १ (एक) पटक प्रत्येक विद्यालयको निरन्तर, प्रभावकारी तथा नतिजामुलक ढंगले अनिवार्य रुपमा अनुगमन गर्ने प्रणालीको विकास गर्दै शिक्षक सम्मान तथा दण्ड पुरस्कार गर्ने नीति अवलम्न गरिने छ । स्थानीय पाठ्यक्रमलाई यसै आर्थिक वर्षभित्रै कार्यान्वयनमा ल्याईनुका साथै पाठ्यक्रम प्रबोधिकरण कार्यक्रमलाई समेत निरन्तरता दिईनेछ ।
विद्यालयको शैक्षिक गुणस्तर तथा नतिजाका आधारमा विद्यालयका प्रधानाध्यापकहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिने भएको छ । त्यस्तै सामुदायिक विद्यालयमा अध्ययन गरी एसईई परीक्षामा उत्कृष्ट नतिजा(A+) ल्याउने विद्यार्थीहरूलाई रु १ लाख नगद पुरस्कार सहित सम्मान तथा प्रोत्साहन गरिने छ ।साथै उल्लेखित नतिजा ल्याउने विद्यालयलाई समेत सोही रुपमा पुरस्कार तथा सम्मान गर्ने नीतिमा अवलम्वन गरिएको छ । भने कक्षा ५ देखि ८ सम्मको को बार्षिक परीक्षालाई पालिकास्तरीय बनाईने निति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै सबै सामुदायिक विद्यालयका सिकाई क्रियाकलापमा समानता तथा एकरुपता कायम गर्न बार्षिक शैक्षिक क्यालेण्डर प्रकाशित गरी लागु गरिने छ । त्यस्तै खेलकुद तर्फ पालिकाले राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल सिद्धान्तलाई आत्मसाथ गर्दै विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिने छ । युवाहरुलाई लागु पदार्थ दुर्व्यसनी तथा कुलतबाट बचाउन युवाक्लवहरु परिचालन गरी लागु औषध सेवन तथा दुर्व्यसन विरुद्धका जनचेतनामुलक क्रियाकलापहरु सञ्चाल गरिने भएको छ । स्वास्थ्य तर्फ स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता विकास गर्न विभिन्न तालिम कार्यक्रमहरु सञ्चालन गरिने छ तथा संस्थागत क्षमता विकास गर्न आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने नीति अवलम्वन गरिनेछ । संचालनमा रहेको गाउँघर क्लिनिक तथा खोप क्लिनिक कार्यक्रमलाई थप व्यवस्थित तथा प्रभावकारी बनाईनेछ ।
स्वस्थ थलारा र निरोगी थलाराबासी को आकांक्षालाई पुरा गर्न प्राकृतिक चिकित्सा र योग अभ्यासलाई प्राथमिकता दिईनेछ साथै मनोसामाजिक परामर्श सम्बन्धी कार्यक्रम गैर सरकारी संस्थासंगको समन्वयमा सञ्चालन गरिनेछ । स्थानीय रुपमा पाईने जटीबुटीहरुको लगत संकलन तथा प्रशोधन गरी औषधी निर्माणको लागि सरोकारवालाहरुसंग छलफल तथा आवश्यक अध्ययन अनुसन्धानमुलक कार्यलाई अगाडी बढाईनुका साथै बर्षमा कम्तिमा २ पटक गाउँपालिका स्तरीय बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरको आयोजना गर्न आवश्यक प्रबन्ध मिलाईने भएको छ । समाज रुपान्तरणको बाधकको रुपमा रहेका जातीय छूवाछुत तथा भेदभाव, सामाजिक कुरीति, यौन तथा घरेलु हिंसा मानव अधिकार हनन् र साईवर अपराध विरुद्ध सचेतनामुलक कार्यक्रहरु सञ्चालन गरिने छ । सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याईनेछ खानेपानीको सहज पहुँच पुग्न नसकेका वस्तीहरुलाई आगामी आर्थिक वर्षभित्र खानेपानीको पहुँचमा ल्याई सकिनेछ । यस्तो खानेपानी तर्फ संचालित खानेपानी योजनाको संरक्षण तथा दिगोपना कायम गर्न खानेपानी  मर्मत सम्भार कोषको स्थापना गरिनेछ । कृषि तर्फ पालिकाले कृषि पेशालाई सम्मानीत पेशाको रुपमा विकास गर्न तथा कृषि पेशामा आम युवाहरुलाई आकर्षित गर्न कृषक पुरस्कारको व्यवस्था गरी उत्कृष्ट काम गर्ने अगुवा कृषकहरु मध्येबाट प्रत्येक बर्ष ३ जना कृषकलाई कृषि पुरस्कारले सम्मानित गरिने नीति अवलम्वन गरिने छ । आगामी आर्थिक वर्ष २०८०/८१ भित्रै सम्पूर्ण किसानहरुलाई किसान सुचिकरण कार्यक्रम मार्फत सुचीकृत गरी कृषि सम्बन्धी एकिकृत तथ्यांकको संकलन गरी किसानको पहिचान तथा वर्गिकरण गरी किसान परिचय पत्र वितरण गरिने छ । कृषकहरुलाई समुहमा आवद्ध गरी वडा स्तरीय संजाल मार्फत बजारीकरणको व्यवस्था मिलाइनेछ साथै एक वडा एक कृषि संकलन केन्द्रको नीतिलाई क्रमशः कार्यान्वयन गरिदै लगिने छ ।
एक कृषि समूह एक उत्पादन कार्यक्रम आगामी आ.ब. बाट संचालनमा ल्याइनेछ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ गरिब, जेहेन्दार तथा पछाडी परेका समुदायका छात्र छात्रा मध्यबाट बार्षिक कम्तिमा ४ जना (२ छात्रा २ छात्र) जना विद्यार्थीलाई प्राविधिक तथा व्यवसायिक उच्च शिक्षा हासिल गर्न दिई रहेको प्राविधिक छात्रवृत्तिलाई निरन्तरता दिईने छ । अपाङ्गता भएका व्यक्ति, असहाय एकल महिला एवं आवास विहिन ज्येष्ठ नागरिकलाई अध्यक्ष जनता आवास कार्यक्रम मार्फत आवास निर्माणको कार्य अगाडी बढाईने छ । त्यस्तै पर्यटन तर्फ पालिकाले गाउँपालिका भित्र रहेका ऐतिहासिक, धार्मिक, सास्कृतिक तथा पुरात्वात्विक सम्पदाहरुको पहिचान संरक्षण, प्रचार प्रसार तथा प्रवर्द्धनमा जोड दिने भएको छ । खप्तड र छडिभेल झरनालाइ आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सघन प्रचार प्रसार तथा प्रयटकीय पुर्वाधार विकासमा जोड दिइनेछ । पालिका भित्र रहेका पर्यटकिय क्षेत्रहरुको पहिचान झल्किने र अवस्थिति स्पष्ट देखिने गरी सार्वजनिक स्थानहरुमा नक्सा सहितका होडिङ बोर्डहरु राखिने निति कार्यक्रममा समावेश गरिएको छ । गाउँपालिका भित्रका खेतियोग्य जमिनमा नियमित रुपमा सिचाई सुविधा उपलब्ध हुने गरी  कुलो सिंचाइ, लिफ्ट सिंचाइ, प्लाष्टिक पोखरी, सिमेन्ट पोखरी , आकासे पानी संकलन तथा सिचाईका अन्य नविन पद्धति तथा प्रविधिको लागि आवश्यक पुर्वाधार निर्माणमा विशेष लगानी गरिने पनि निति तथा कार्यक्रममा समेटिएको सभा अध्यक्ष रोकायाले बताउनुभएको छ । सभाबाटमा बजेट प्रस्तुत गरिएपनि पारित गर्न बाँकी रहेको छ । आज बसेको गाउँसभालाई स्थगित गर्दै असार ३० गते फेरि बोलाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्