अनुसा थापा
भक्तपुर
काठमाडौं उपत्यकामा दुई वर्षअघि एउटा सटर र कोठा पाउनका लागि ६ महिना धुँइधुइत्ती खोज्नुपर्थ्यो । बाहिरी जिल्लाको अवस्था पनि त्यस्तै थियो । खाली सटर र कोठा पाउनका लागि पहिले नै बुकिङ्ग गर्नुपर्थ्यो । कोठा पाउनेबित्तिकै बैना तिर्नुपर्ने हुन्थ्यो । खाली सटर २०–५० लाखमा बिक्री हुन्थ्यो । एउटा कोठाको ठाउँ हेरेर पाँच हजारदेखि २० हजार रुपैयाँ तिर्नुपर्थ्यो । फल्याटको ठाउँ हेरेर २५ हजारदेखि लाखसम्म मासिक भाडा बुझाउनुपर्थ्यो । लाखौं रुपैयाँसम्म भाडा तिरेर सटर लिनेहरु पनि थिए । महाबौद्ध, इन्द्रचोकलगायत व्यापारिक एरियामा एउटा सटरको मासिक लाखौं रुपैयाँ भाडा तिर्नुपर्थ्यो ।
घरधनीहरुले प्रत्येक तीन महिनामा भाडा बढाउँथे । बढाएको भाडा तिर्न मानेनन् भने कोठाबाट निक्लिन लगाइहाल्थें । पूरानालाई निकालेर नयाँलाई दोब्बर भाडामा लगाउने गरिन्थ्यो । राज्यलाई घरबहाल कर नतिर्ने अनि बहालमा बस्नेसंग मँहगो भाडा लिने । सेवासुविधा केही नदिने, भाडाचाँहि दोब्बर असुल्ने । दुई वर्षअघि व्यापार पनि मज्जाले चलेको थियो । आम्दानीको स्रोत पनि राम्रै थियो । काम पनि छ्याप्छ्याप्ती पाइथ्यो । कामदारहरुले तलब पाइरहेका थिए । पैसा भएपछि खर्च गर्न कुन ठूलो कुरा भयो र । सबै कुरा राम्रै चलिरहेको थियो ।
सटर लिएर व्यापार व्यवसाय गर्नलाई यहाँ हानाथाप हुन्थ्यो । तर, अहिले परिस्थिति ठ्याक्कै फेरिएको छ । बजारमा पूरै मन्दी छाएको छ । व्यापार व्यवसाय धमाधम बन्द हुँदै गइरहेको छ । रोजगारीको अभाव हुन थालिसकेको छ । हिजो भारी बोकेर पनि राम्रै आम्दानी गर्दै आएकाहरु काम नपाएर मर्कामा परेका छन् । अधिकांश बेरोजगार बनिसकेका छन् । आफ्नो व्यापार व्यवसाय ठप्प बनेको भन्दै साहुहरुले कामदारहरुलाई धमाधम जागिरबाट हटाउन थालेका छन् । सस्तोमा काम गर्छु भन्दा पनि काम पाउन सक्ने अवस्था छैन् । यहाँ बस्ने नसक्ने देखिएपछि अधिकांश आफ्नो जन्मथलो फर्किए ।
दिनमा लाखौंको व्यापार गर्ने साहुजीहरुलाई अहिले बोनी गर्न पनि महाभारत छ । कुनै दिन त बोनी नै हुँदैन् । कुनै दिन एकदुई हजारको व्यापार हुन्छ । उनीहरुलाई व्यापारको अवस्था देखेरै दिक्क लागिसकेको छ । कतिपय व्यापारी त आफ्नो व्यापार व्यवसाय छोडेर विदेश पलायन भइसकेका छन् । हरेक चोक, गल्लीमा कोठा, सटर खाली भनेर लेखेको देखिन्छ । सामानसहित पसल बिक्रीमा भनेर पोस्टर टाँसेको पनि छ्याप्छ्याप्ती देखिन्छ । टु– लेट लेखेको पोस्टर टाँसेको घर त कति हो कति । पसलेहरु भन्छन्,‘सामान किन्न पसलमा कोही छिर्दैनन् । मान्छेसंग पैसा छैन् ।’
कसरी सटर भाडा तिर्ने ? गुजारा कसरी गर्ने ? भनेर चिन्तित छन्, व्यापारी । नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाइरहेको बताउँदै आएको छ । तर, त्यो पैसा बजारमा घुमिरहेको छ त ? यसबारे राष्ट्र बैंकले कुनै अध्ययन गरेको छैन् । आम नागरिकले पैसा लुकाइसके तैपनि राष्ट्र बैंकलाई कुनै जानकारी नै छैन् । बजारमा तरलताको अभाव छ । बैंकको पैसामा सीमित व्यक्तिले राज गरेका छन् । जसका कारण बैंकहरु नै टाँट पल्टिन बेर छैन् । सहकारीको अवस्था त सबैलाई थाहा नै छ । रातारात सहकारी भागिरहेका छन् । बचतकर्ताहरुको बिचल्ली भएको छ ।
एक हजार र पाँच सयको नोटलाई प्रतिबन्ध लगाउन अबेला भइसकेको छ । जनताले पटकपटक एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउनुपर्छ भनेर माग गरिरहेका छन् तर, सरकारलाई चासो नै छैन् । न व्यक्तिले घरमा लुकाएको पैसा नै बजारमा ल्याउन सक्छ । बजारमा किन मन्दी आयो ? व्यापार व्यवसाय किन सुक्यो ? बैंक तथा वित्तिय संस्था किन टाँट पल्टियो ? यसबारे सरकारले अध्ययन नै गरेको छैन् । जग्गाको कित्ताकाट नहुँदा बजारमा मन्दी आयो भन्ने एउटा मानसिकता घरजग्गा दलालीहरुले विकास गरिदिएका छन् । कित्ताकाट नहुँदा राजस्व उठेन् त्यसैले मन्दी आयो भनेर विश्लेषण गरिँदै आएको छ ।
तर, वास्तविकता यो होइन् । घरजग्गा दलालीले कित्ताकाट खुलाउन अनेकथरी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल, भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, अर्थमन्त्री डा प्रकाशशरण महतको दिमागमा उनीहरुको कुरा भरिदिए । सरकारले उनीहरुको कुरा सुनेर जग्गाको कित्ताकाट खोल्यो । बजारको मन्दी हट्यो त ? घरजग्गा खरिद गर्नलाई व्यक्तिसंग पैसा हुनुपरेन् । पहिले नै घरजग्गामा त्यत्रो पैसा गएर फ्रिज भएर बसेको छ । यहाँ सर्वसाधारणलाई बिहानबेलुका छाक टार्न पनि महामुश्किल परेको छ । जनतासंग खाने पैसा छैन्, कुरा निकाल्छन् घरजग्गा खरिदबिक्रीको ।
लुगा पसलमा कोही छिर्दैं छिर्दैंनन् । ब्यूटी पार्लर व्यवसाय पनि सुकेको छ । मान्छे बाँच्ने प्रमुख आधार भनेको खाना हो । लुगा त पुरानै लगाए पनि भइहाल्यो । औषधी पसल र खाद्यान्न पसल अलिअलि चलेको छ । डेरी र माछामासु पसलले पनि केही हदसम्म आम्दानी गरिरहेका छन् । अन्य व्यापार व्यवसायको त कुरै नगरौं । सामान किन्ने मान्छे नभएर उनीहरु तनावमा छन् । सर्वसाधारणले जसरी हुन्छ, खर्च कटौती गर्दै लगिरहेका छन् । बाहिर खान जाने, घुम्न जाने, फजुल खर्च गर्ने क्रम रोकिएको छ । खाद्यान्नको मूल्य हप्तैपिच्छे बढिरहेको छ ।
एकातिर मँहगी ह्वात्तै बढेको छ अर्कोतिर बेरोजगारी । बिहानबेलुका गुजारा गर्न नै धौं धौं परिसकेको अवस्था छ । देश निरन्तर व्यापार घाटामा गइरहेको छ । निर्यात ठप्प छ, आयात बढेको बढ्यै । चाँहिदै नचाहिने सामानसमेत आयात गरिएको छ । मँहगामँहगा चकलेट किन चाहियो ? विेदशी रक्सी किन आयात गर्नुपर्यो ? तास किन ल्याउनुपर्यो ? खान नपाउने बेलामा मँहगा गाडी किन चाहियो ? यस्ता कुरामा त सरकारले प्रतिबन्ध लगाइदिनुपर्यो नि । विलासी वस्तु आयात गरेको छ, व्यापार घाटा बढाएको छ । भनिन्छ नि,‘घाँटी हेरेर हाड निल्नुपर्छ ।’
सरकारले सामान्य कुरा पनि नबुझ्दा मुलुक विदेशी ऋणको दलदलमा फस्दै गइरहेको छ । नेपालको खाद्यान्न, तरकारी भारतमा निर्भर छ । भारत अब चामल निर्यात नगर्ने निष्कर्षमा पुगिसकेको छ । अब नेपाली जनताले के खान्छन् ? नेपालीहरु किनेर खान तयार छन् तर गरेर खादैनन् । अब सरकारसंग दुइटै उपाय छ । पहिलोः जग्गाको कित्ताकाट रोकिदिने । खेतीयोग्य जमिनमा घर र बाटो बनाउन दिँदा आज मुलुक अरुमाथि भर पर्नुपर्ने अवस्था बन्यो । सरकारले बेलैमा ध्यान दिएको भए आज नेपाल अरुको गुलाम बन्नुपदैन्थ्यो । दोस्रोः अब कुनै पनि जमिन बाँझो राख्न नदिन सरकारले नीति बनाउनुपर्छ ।
सबै जमिनमा अहिले नै खेती गर्न शुरु गर्यो भने खाद्यान्न संकटबाट बच्ने आधार बन्ला । होइन् भने भोलि यहाँ भोकमरी लाग्छ । जग्गा बेच्नेले पनि खानुपर्यो, जग्गा किनेर घर बनाउनेले पनि खानैपर्यो । सिमेण्ट, ढुंगा, गिट्टी चपाउने कुरा भएन् । सरकार सबैतिरबाट असफल बनिसकेको छ । देशलाई बलियो बनाउनभन्दा पनि सत्ता जोगाउनैतिरै सरकार केन्द्रीत बन्यो । सरकार गैरजिम्मेवार हुँदा आज मुलुक तहसनहस बन्यो । अरुको इशारामा नाँच्नुपर्ने अवस्था सिर्जना भयो । जनतासंग आम्दानी छैन् । काम भए त आम्दानी हुने हो । यस्तै अवस्था रह्यो भने जनताले कर तिर्दैनन् ।
अनि सरकारले सरकारी खर्च कसरी धान्छ ? विदेशीसग लिएको खर्बौं ऋणको किस्ता कसरी तिर्छ ? जनता मात्रै होइन्, अब देश नै डुब्छ । अर्थतन्त्र कसरी चलायमान बनाउने ? सरकारसंग कुनै योजना नै छैन् । विदेशी ऋण लिएर खर्च धान्छौं भन्ने दौडमा यिनीहरु छन् । राष्ट्र बैंकमा एमालेको कार्यकर्ता बसेको छ, अर्थ मन्त्रालयमा कांग्रेसको । पार्टी–पार्टीबीचको हानाथापले देश सखाप हुने भो । अब सरकारले अर्थतन्त्रलाई ‘ट्रयाक’ मा ल्याउन सक्दैनन् ।