पाँच घन्टापछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

काठमाडौँ – पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता सुरेन्द्र विष्टका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो।

‘पहिरो पन्छाउने काम सकिएपछि अहिले दुईतर्फी नै सवारी सञ्चालन भएको छ,’ उनले भने। पहिरोमा परी एउटा ट्रक पनि पल्टिएको थियो। उक्त ट्रकलाई सडक किनारामा राखिएको र सवारी आवागमन दुईतर्फी नै सञ्चालन गरिएको विष्टले जानकारी दिए। आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो। यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्