काठमाडौँ – शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार असारको तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी हाम्रो वार्षिक कार्य तालिका छ । सोही आधारमा तयारी भइरहेको छ । उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण तथा रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको बोर्डको भनाइ छ ।
बोर्डले एसईईमा ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई नन ग्रेडेड गर्ने व्यवस्थासहितको लेटर ग्रेडिङको व्यवस्था गरेको छ । तर, उक्त नियम अघिल्लो वर्ष समेत अन्तिम समयमा आएर रोकिएको थियो । यो वर्ष कुन आधारमा नतिजा प्रकाशन हुन्छ भन्ने हालसम्म यकिन भइसकेको छैन ।
पुरानै विधिअनुसार ९० देखि १०० ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिँदै आएको छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । २०७९ मा ४ लाख ८४ विद्यार्थीले एसईई दिएका थिए ।