काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध फिल्डिङमा चुक्दा नेपालले फराकिलो हार व्यहोरेको छ । दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भयो ।
जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो । २८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ६८ रनको साझेदारी गरे । गुल्सन ४२ रन बनाएर आउट भए । आरिफ ६३ रन बनाउँदै आउट भए ।
ओपनर कुशल भुर्तेल ५ रनमा आउट भएपछि अर्का ओपनर ब्याटर आसिफ शेखले केही सम्हालिन खोजे । उनले ३६ बल खेल्दै ३ चौका सहित २८ रन बनाए । कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौका सहित ३० रन जोडे ।
तेस्रो क्रममा आएका भीम सार्की खराब सर्ट सेलेक्सनका कारण २ रन बनाउँदै फाइन लेगमा विकेट किपरको हातबाट क्याच आउट हुन पुगे ।
सातौं ब्याटर दिपेन्द्र सिंह ऐरी क्रिजमा आक्रमक देखिए । उनले २४.६ ओभरमा एकेल होसिनको बलमा लामो छक्का प्रहार गर्दै मिडिया बक्सको सिसा फुटाएका थिए । तर उनी पनि २३ रनमा आउट भए ।
त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले । बिहानी विकेट कन्डिसनमा ब्याटिङका लागि संघर्षरत वेष्ट इण्डियन ब्याटरहरुले मध्य ओभरमा शानदार प्रदर्शन गरेका थिए ।
सुरुवातमै शीर्षक्रमका तीन ब्याटरलाई सस्तैमा आउट गर्न सफल रहे पनि त्यसपछि नेपाली बलरहरु विकेटका लागि संघर्ष गरिरहे ।
नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच आउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके । करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए ।