काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनको सिछुवान एअरलाइन्सले बुधबार बिहान छेन्तु विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा उडान गर्न लागेको हो ।
सिछुवान एयरलायन्सको एयरबस ए–३१९ विमान बुधबार साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । १ सय ३५ जना यात्रुसहित आउने यो उडान चार्टर्ड उडान हुने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले चीनबाट आउने विमानलाई स्वागत गर्ने भएका छन् । विमानबाट आगामी शुक्रबार र शनिबार फेवातालमा हुन लागेको ‘नेपाल-चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदै छन् । सो विमान बुधबार नै पोखराबाट काठमाडौँ आएर नियमित उडानमार्फत छेन्तु फर्कने छ । गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।