काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताए । कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी एमाले अध्यक्ष केपी ओलीले गरेको स्मरण गराउँदै उनले यस्तो भनाई राखेका हुन् ।
सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रतिगमनकाविरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने बताए । मोर्चा कसैलाई तर्साउन र मुकाविला गर्नका लागि नभएको नेपालको भनाई थियो । उनले प्रतिगमनका पक्षमा भएकाहरु मोर्चासँग डराउन सक्ने जिकीर समेत गरे ।
अध्यक्ष नेपालले अग्रगमनका पक्षधर सबै शक्तिहरुलाई मोर्चामा आवद्ध हुन पनि आह्वान गरे । सत्तापक्ष र सत्ता बाहिर रहेका दल सहभागी रहेको मोर्चाले सबै शक्तिहरुलाई समेटने सामथ्र्य राखेको पनि उनले बताए । अध्यक्ष नेपालले देशभक्त र क्रान्तिकारी शक्तिहरुसँग हातेमालो गर्दै अघि बढाउने योजना मोर्चासँग रहेको समेत बताए । अध्यक्ष नेपालले समाजवादी शक्तिमा रहेका जनताको प्रभावलाई विस्तार गर्न पनि आफूहरुले सो मोर्चा निर्माण गरेर अघि बढने निर्णय लिएको बताए ।