संसदमा सांसद बरालको प्रश्न : ‘के सरकारले सबै न्यायालयहरु बन्द गर्न खाेजेकाे हाे ?

काठमाडौं – सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेहरुकाे मुद्दा फिर्ता लिएको भन्दै नेकपा एमालेलेकी सांसद सुनिता बरालले आपत्ति जनाएकी छिन् ।

साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् बरालले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिन नपाइने बताइन् । चलाउनेमाथि आक्रमण गरेको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका नेविसंघका नेता विरुद्धकाे मुद्दा सरकारले फिर्ता लिएकाे भन्ने समाचार आएकाे भन्दै उनले सरकारले गरेको त्यस्तो निर्णय आपत्तिजनक रहेकाे बताइन् ।

नेविसंघका नेता-कार्यकर्ताले मरणासन्न हुनेगरी फालिएकाे व्यक्तिले दर्ता गरेकाे मुद्दा पटकपटक फिर्ता लिने काेशिस गरेर अहिले फिर्ता लिएकाे बताइन् । ‘मरणासन्न हुनेगरी फालिएकाे व्यक्तिले गरेकाे उजुरी सरकारले धमाधम फिर्ता लिन्छ भने सह्य हुँदैन, महाधिवक्ताकाे कार्यालयबाट पत्र लेखिएकाे भन्ने सूचना आएकाे छ, के सरकारले सबै न्यायालयहरु बन्द गर्न खाेजेकाे हाे ? अब के सरकारले काेही पनि नेपाली जनतालाई परेका समस्यामा राज्य छैन भन्ने सन्देश दिन खाेजेकाे हाे ? कार्यक्षेत्रमा जाने कि नजाने ?’ सांसद बरालले भनिन्, ‘०७७ असाेज २० गते त्रिवि परिसरमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि मरणासन्न हुनेगरी कुटपिट गरेर नेविसंघसँग नाम जाेडिएका विद्यार्थीले फालेका थिए, अरुले उद्दार गरेर ती उपप्राध्यापक आज बाँचिरहेका छन्, मुद्दा चलिरहेकाे छ, सरकार पटकपटक मुद्दा फिर्ता लिने निर्णय गर्छ, आज हामी सुशासन माग्न कहाँ जाने हाे ? अब कहाँबाट सुरक्षित हुने हाे ?’

सरकार र राज्यसँग नेपाली जनता आक्राेशित हुनुपरेकाे अवस्था रहेकाे पनि उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्