काठमाडाैं – सङ्खुवासभाको सभा नदी तुम्लिङटार जलमापन केन्द्रको जलसतह सतर्कता तहसम्म पुगेको छ । यो बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अपिल गरिएको छ । सङ्खुवासभाको नुम र वरपरको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भइ बहने स–साना नदीहरूमा पनि आकस्मिक बहाव तथा कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम देखिएको छ ।
यसैगरी ताप्लेजुङको काबेली नदीमा जलसतह सतर्कता तहसम्म पुगेको छ । जलमापन केन्द्रको जलसतह अझ बढ्दो क्रममा रहेकोले काबेली र तमोरको तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसैबीच कोशी प्रदेशको एक दुई स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।