काठमाडौं – काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहले बताएको छ । उहाँले यसबारे फेसबुक स्टास लेख्दै रोकिने बताएको छ ।
मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।
फिल्म आदिपुरुषबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय फिल्मलाई सोमबारदेखि निषेध गरिएको उनले जनाएका छन् । मेयर शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए । यसैबीच, चलचित्र संघका पूर्वअध्यक्ष समेत रहेका प्रदीपकुमार उदयले बुटवलस्थित आफ्नो हल द्वारिकाउदय सिनेमाजबाट चल्दाचल्दैको फिल्म ‘आदिपुरुष’लाई उतारेका छन् । उक्त सिनेमा हल अहिले बन्द गरिएको छ ।