नक्कली भुटानी शरणार्थी प्रकरण: एमाले उपाध्यक्ष बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

शरणार्थी प्रकरणमा थापाको संलग्नता देखिएकपछि प्रहरीले आइतबार पक्राउ पुर्जी जारी गरेको हो । यसअघि बादल गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकको पनि संलग्नता देखिएकाले थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।

तर, पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकले भने यसअघि विज्ञप्ति जारी गरी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए । प्रतीकले आफूले अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि आइतबार नै कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण भट्टराई, पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलगायत १२ जना पक्राउ परिसकेका छन् । शरणार्थी प्रकरणमै मुछिएका एमाले सचिव रायमाझी भने पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्