काठमाडौं – काठमाडौंको कपन सरस्वतीनगरमा हत्या गरिएको निरा आचार्यको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्रकार सम्मेलन गर्ने भएको छ । आज (आइतबार) दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गर्ने सिआइबीको तयारी रहेको छ ।
विनोद विकले नै हत्या गरेको भन्ने निष्कर्षमा प्रहरी पुगेको छ र शंकास्पद बस्तु समेत फेला पारेको छ । यसैगरी पूर्ण रुपमा अनुसन्धान गरि अनुसन्धान रिपोर्ट पत्रकार सम्मेलन मार्फत जानकारी गराइने भएकाले पछि विस्तृत खुल्नेछ ।
घटनामा संलग्न बिकलाई आजै काठमाडौं ल्याइँदैछ । प्रहरीले यस घटनाको अनुसन्धान गर्न सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा अनुसन्धान समिति बनेको थियो। त्यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको थियो ।