काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लोर विरुद्धको खेलमा कोलकाता नाइट राइडर्स २१ रनले विजयी भएको छ । गएराति बेङ्लोरकै घरेलु मैदानमा कोलकाताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बेङ्लोरले ८ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । बेङ्लोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५४ र महिपाल लोमरोरले ३४ रन बनाए ।
बलिङतर्फ कोलकाताका वरुण चक्रवर्तीले ३ तथा आन्द्रे रसेल र सुयश शर्माले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कोलकाताका लागि ज्यासन रोयले ५६ र नितिश राणाले ३८ रन बनाए । बलिङतर्फ बेङ्लोरका विनिन्दु दी हसरंगा र विजयकुमार वयशकले २/२ विकेट लिए ।
बेङ्लोर आठ खेलमा ८ अङ्कसहित पाँचौँ स्थानमा र ६ अङ्क रहेको कोलकाता आठौँ स्थानमा छ । आज राजस्थान रोयल र चेन्नइ सुपरकिंग्स् भिड्ने भएका छन् । खेल नेपाली समय अनुसार पाैने ८ बजे हुनेछ ।