कैलाली – कैलालीको गौरीगंगा नगरपालिकामा भोलि आइतबार देखि स्थानीय तह स्तरीय महिला तथा पुरुष मेयर कप फुटबल हुने भएको छ । भोलि आइतबार बैशाख १० गते देखि १७ गते सम्म संचालन हुने महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलमा आयोजकले जानकारी दिएका छन् ।
” युवाहरुमा अनुशासन, लागु औषध दुर्व्यसन न्युनिकरण र सामाजिक सद्भावका लागि खेलकुद प्रोत्साहन ” भन्ने नाराका साथ गौरीगंगा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिका संयोजक तथा नगर कार्यपालिकाका प्रवक्ता बिष्णु प्रसाद भाटले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य दिर्घ बहादुर सोडारीले उद्घाटन गर्नेछन् ।
उद्घाटन खेलमा आयोजक गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाको टीम भिड्नेछन । गौरीगंगा नपा ८ को खेल मैदान संचालन हुने प्रतियोगितामा पुरुषतर्फ कैलालीका ८ स्थानीय तहका टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेतालाई दुबै बिधामा ट्रफी सहित नगद १ लाख र उपविजेतालाई ट्रफी सहित नगद ५० हजार पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा ट्रफी सहित नगद ५ हजार पुरस्कार दिइने छ । नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, खेलाडीको आत्मविश्वास बनाउन तथा युवालाई खेलकूदको माध्यमबाट नगरपालिकाको पहिचान बढाउन अभिप्रेरित गर्नका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख देवीदत्त कडेलले जानकारी दिए ।