बझाङ – बझाङको थलारा गाउँपालिका-५ दुवालीका पार्की र सार्की समुदायको पुख्र्यौली पेशा जोखिममा रहेको छ । पुर्खाको पालादेखिनै निगालको सामाग्री निर्माणको पेशा गर्दै आएका उक्त समुदायका ३५ परिवारको पेशा अहिले जोखिममा रहेको हो । निगालाबाट डोकाडाला,छाप्रो, सुपो क्रोर्का, भाँडे, मोट्टा पलङ्गा लगायतका सामाग्री निर्माण गरेर जिविका चलाइरहेका उक्त समुदायका नागरिक अहिले निगालाको अभावले पेशाबाट विस्थापित हुने अवस्था भएको छ । सामाग्री निर्माण गर्नका लागि आवश्यक पर्ने निगालाको अभाव भएपछि अहिले पेशानै लोप हुने खतरामा रहेको स्थानीय पीरु पार्कीले बताए । पार्कीका अनुसार आफ्नो बाउ बाजेले खप्तड क्षेत्रबाट निगाला ल्याएर निगालाका सामाग्री निर्माण गर्दै आएका भएपनि अहिले खप्तड क्षेत्रलाई राष्ट्रिय निकुञ्ज बनाए पश्चात् पुख्र्यौली पेशा गर्न पाएका छैनौ ।
पुख्र्यौली पेशा गर्नका लागि निगाला अभाव भएपछि अहिले उक्त बस्तीका नागरिक मारमा परेका छन् । पीरुले भने हाम्रो पुख्र्यौली पेशा गर्न नपाउँदा हामी भोकभोकै बस्नु पर्ने अवस्था सृजना भएको छ । पहिलो हामीले गाउँमै निगालाको सामाग्री निर्माण पेशा गरेरै सहजरुपमा जीवन चलाइरहेका थियौ, जब खप्तड राष्ट्रिय निकुञ्ज भयो त्यसपछि हामीलाई विस्तारै विस्तारै पेशाबाट बन्चित हुनुपर्यो स्थानीय प्रमन्या सार्कीले भने । २०४२ सालमा खप्तड राष्ट्रिय निकुञ्ज भयो, त्यसपछि निगाला पहिला जस्तै गरि ल्याउनमा रोक लगाइयो सार्कीको भनाइ । सुरुमा त केही वर्षसम्म निगाला आवश्यकता अनुसार ल्याउन दिएपनि अहिले निकुञ्जले वर्षको एकपटक मंसिरमा १० दिनका लागि मात्रै निगालाको पुर्जी दिने गरेको छ । राष्ट्रिय निकुञ्जले मंसिरमा १० दिन पुर्जी दिने गरेको भएपनि उक्त पुर्जीले पेशालाई निरन्तरता दिन निगालो पुग्दैन । भने लगातार १० दिन खुल्छ , बाटो टाढा रहेको छ लगातार निगाला ल्याउन जान सकिदैन , यदि दु:खकष्ट गरि ल्याएतापनि निगाला भण्डारको ठाउँ नहुँदा विग्रिने गरेको सार्कीले जानकारी दिए । त्यसकारणले पनि ती १० दिनमा लगातार निगाला ल्याइदैन्। उनीहरूले अहिले मंसिरमा मात्रै १० नखुलाई हरेक महिनाको ४ पटकपटक निगालाको पुर्जी पाउनु पर्ने बताउँदै आएका छन् । बिशेष गरि निगालाका सामाग्रीको माग भदौ असोज मा हुने भएपनि अहिले उक्त समयमा निगाला नहुँदा सामाग्री निर्माण हुँदैन । हाम्रो मुख्य पेशानै निगाला सामाग्री निर्माण हो , तर अहिले हामी त्यहीँ पेशाबाट बन्चित हुँदैछौ, पेशा गर्न नपाउँदा घरपरिवारको पालनपोषणमा समस्या निम्तिएको मधन पार्किको भनाइ रहेको छ । सिजनमा हामीले यो पेशाबाट दिनकै १५ सय बढी कमाइ गर्थौ, भने घर खर्च चलाएर डेढ लाख बढी बचत हुने गरेको थियोे ।, अहिले राष्ट्रिय निकुञ्जले निगाला ल्याउनमा रोक लगाएपछि विदेश पलायन हुनेपरेको छ । हामी परदेशमा जान कमाउन सक्ने त परदेश जान्छौं, नसक्नेले के गर्छन् हामीलाई सरकारले केही त खाने व्यवस्था गरिदिनु भर्यो पार्कीले भने ।
जमिन भिरालो खेती हुँदैन, ढोकामा ताला लगाए विदेश जानुपर्ने अवस्था दुवालीमा पार्की र सार्की समुदाय बस्दै आएको बस्तीमा भिरालो जमिन भएकालेे खेतीपाती पनि हुँदैन । प्रयाप्त मात्रामा खेतीयोग्य जमिन नभएपनि भएकै जमिनमा समेत चाहेजस्तो खेतीपाती नहुने गरेकोे त्यहाँका स्थानीय दुखेसो पोख्छन् । भिरालो जमिन छ नत पानी लगाउन हुन्छ नत खेतीपातीका लागि आवश्यक पर्ने सिचाइँको व्यवस्था छ मोहन पार्कीको भनाइ । उनलेे थपे तरकारी खेती गरौं भने भिरालो जमिन भएकाले र सिचाइ गर्नसक्ने अवस्था नहुँदा कुनै पनि खेती गर्न सकिदैन । पुख्र्यौली पेशा गरौँ भने निगाला पाइँदैन अहिले गाउँमा बसेर जिविका चलाउँन सकिदैन विदेश जानुपर्छ,,कसले भुझ्छ हाम्रो समस्या , गाउँ गाउँमा सिंहदरबार भन्ने नारा थियोे , तर हामीले पेशाबाटै बन्चित भएर घरको ढोकामा ताला लगाएर विदेश जानुपरेको छ। ताला लगाए परदेश गइरहँदा पनि सरकारले केही गरेकोे छैन , मात्रै टुलुटुलु हेरेर बसेको मोहनले बताए ।
पेशा प्रभावित समुह गठन । खप्तड राष्ट्रिय निकुञ्जका कारणले निगालाको सामाग्री निर्माण पेशा प्रभावित समुह गठन गरिएको छ । मानवअधिकार वादी संस्था फियान नेपालको सहयोगमा २०७८ पौषमा उक्त समुह गठन गरि विभिन्न मागहरू राख्दै आएका छन् । खप्तड राष्ट्रिय निकुञ्जले मंसिरमा १० दिनमात्रै निगाला दिएपनि अहिले समुहले महिनाको ४ पटक निगाला ल्याउन पाउनुपर्ने,, निगालाका सामाग्री निमार्ण पेशालाई आधुनिकीकरणका लागि तालिमको व्यवस्था हुनुपर्ने , र बजारको व्यवस्थापन हुनुपर्ने माग राख्दै वडा कार्यालय र गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको छ । साथै उनीहरूले कुनै बैकल्पिक पेशामा आवद्ध गराउन समेत माग राख्दै आएका छन् । खप्तड राष्ट्रिय निकुञ्जका प्रमुखलाई ज्ञापनपत्र । चैत १३ गते खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख गोपाल बहादुर घिमिरेलाई थलारा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरबहादुर खातीको नेतृत्वमा गएको टोलीले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । वडाध्यक्ष खातीको नेतृत्वमा समुहका सचिव रमेश पार्की , सदस्य राम पार्की , फियान नेपालको तर्फबाट क्षेत्रीय संयोजक मुकुन्द बहादुर राना र जिल्ला फिल्ड अधिकृत सीता सिंह सहित गएको टोलीले महिनाको ४ पटक निगाला ल्याउन पाउनुपर्ने , ऐन कानुनमा परिवर्तन गर्नुपर्ने , वैकल्पिक रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख घिमिरेले नितिगत विषयमा वकालत पैरवी तथा संशोधन गर्न समय लाग्ने , धेरै पहल गर्नुपर्ने भएको हुँदा बैकल्पिक उपायको सुझाव सल्लाह दिएका थिए । उनलेे बासका सामाग्री बनाउने सीप सिकाउने , बासका सामाग्री बन्ने ठाउँमा भ्रमण अवलोकन गराउने , सरोकारवाला निकाय संग सहकार्य समन्वय गर्न बताए । यता थलारा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरबहादुर खातीले पेशालाई निरन्तरता दिनमा जोडदिने बताए । अन्य पेशा सबैले गर्न सक्छन्, निगालाका सामाग्री निर्माण गर्ने पेशा सबैले गर्न नसक्ने भएकाले पेशालाई निरन्तरता दिनमा जोडदिएको उनले बताएका हुन् । निगालाबाट बन्ने सामाग्री अति आवश्यक भएकाले पेशा जगेर्नाका लागि पहल चाल्न सहयोग गर्ने अध्यक्ष खातीले बताए । अहिले उक्त दुवालीको पार्की र सार्की समुदायको बस्तीमा ३५ परिवारका २ सय १८ बढी सदस्य बसोबास गर्छन् ।