बझाङ – बझाङको थलारा गाउँपालिका-८ बिस्खेतमा १८ वटा हलियामुक्त परिवार बसोबास गर्दै आएका छन् । उनीहरु बसोबास गर्दै आएको बिस्खेतमा साँघुरो ठाउँमा छ, भने परिवार संख्या बढी हुँदा बसोबास समस्या हुँदैआएको छ । यो समस्या अहिलेको भने होइन, उनीहरूले यो समस्या वर्षौंदेखि भोक्द आएका छन् । अहिले उक्त १८ परिवार परिचयपत्र पीडित भएर बस्नु परेको छ । सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्त प्रथा घोषणा गर्यो । हलिया मुक्त घोषणा पश्चात् सरकारले हलिया मुक्त परिचयपत्र पनि प्रदान गरेको थियोे ।
बिस्खेतका हलिया मुक्त परिवारले जुन वर्गको परिचयपत्र पाउने पर्ने थियो तर त्यो नपाएको गुनासो गर्दै आएका छन् ,भने एउटा परिवारले परिचयपत्र नै पाएको छैन । यसरी आफूहरू परिचयपत्र पीडित बनेको उनीहरुको भनाइ छ। सरकारले ६ चैत २०७० मा मन्त्रिपरिषद्को बैठकबाट मुक्त हलियाको पुनःस्थापनको ढाँचा र कार्ययोजना स्वीकृत गरेको थियो । उक्त कार्ययोजनाले मुक्त हलिया परिवारलाई चार किसिमले वर्गीकरण गरेको थियो । जसअनुसार आफ्नो स्वामित्वमा घर–जग्गा दुवै नभएको परिवारलाई ‘क’ वर्ग, आफ्नो घर भएको जग्गा नभएकोलाई ‘ख’ वर्ग, आफ्नो जग्गा भएको घर नभएकोलाई ‘ग’ र आफ्नो स्वामित्वमा घर–जग्गा दुवै भएको परिवारलाई ‘घ’ वर्गमा राखेर वर्गीकरण गर्दै सोही अनुसार परिचयपत्र पनि वितरण गरिएको थियो । उनीहरूले घर मात्रै भएको र जग्गा नभएको हुँदा `ख´ वर्गको परिचयपत्र पाउनुपर्ने भएपनि पाएका छैनन् । आफ्नो जग्गा नभएका ती परिवारले`ख´ वर्गको परिचयपत्र नपाइ उल्टो `घ´ वर्गको परिचयपत्र पाएपछि लामोसमयदेखि विभिन्न मागहरू राख्दै आएका छन् ।
सरकारको तय गरेको कार्ययोजना आफ्नो बस्तीमा लागू नभएपछि सरोकारवाला निकाय संग उक्त मागका लागि मानव अधिकारवादी संस्था फियान नेपालको सहजीकरणमा आर्थिक वर्ष २०७४/०७५ मा मुक्त हलिया खाद्य अधिकार समुह गठन गठन गरियो । समुह गठन पश्चात् फियान नेपालकै सहजीकरणमा वडा कार्यालय गाउँपालिका हुँदै जिल्ला र प्रदेश सरकार सम्म`ख´ वर्गको परिचयपत्र र छुट परिवारले पनि हलिया मुक्त परिचयपत्र पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाए । तर ज्ञापनपत्र बुझाएका निकायबाट माग पूरा हुन्छन् भन्ने आश्वासन भन्दा ठूलो केही नपाएको दिनेश नेपाली बताए । गाइबस्तुसँग बस्नुपर्ने अवस्था , आगोको डर अहिले उक्त वस्तीका सबै परिवारसँग घर भएपनि साँघुरो भएका कारणले बस्न र सुत्नमा निकै समस्या हुँदै आएको अशोक नेपाली बताए । उनलेे भने घर साँघुरो ,साँघुरो छन सबैलाई बस्न, सुत्न प्रयाप्त ठाउँ छैन , अन्य कुनै उपाय नभएपछि आमाबाबु छोरा बुहारी दाजुभाइ एउटै गोठको ओछ्यानमा सुत्नुपर्ने अवस्था छ, यसरी बस्दा पनि ठाउँ नहुँदा एकठाउँमा आफू बस्नुपरेको र अर्को ठाउँमा गाईबस्तु राख्नु पर्ने बाध्यता रहेको उनलेे देखेसो गरे ।
आफन्त पाहुना आउँदा घरमा बस्नको समस्या देखिनु उक्त बस्तीमा नौलो कुरा होइन र आफन्त पाहुना आउँदा निकै समस्या हुँदैआएको छ । यो अवस्थमा कित बाहिरी बस्नुपर्छ भने कित पाहुनालाई नै घर फर्काउनुपर्ने हुन्छ । सुत्ने ठाउँमै भान्सा भएकाले लुगाकपडा, कापी किताब आवश्यक कागजात जल्ने डर समेत रहेको छ, भने , बालबच्चाको शरीर समेत जल्ने गरेको देवकी नेपालीले बताइन् । केही समय अगाडि ठाउँ साँघुरो हुँदा चुलोमा बालेको आगोले कपडामा सल्केर आफ्नो बच्चाको हातको औंला जलेको सुनाइन् । अहिलेसम्म आगोले जलेर कसैको ज्यान नगएको भएपनि भान्सा र सुत्ने ठाउँ सँगै भएकोले कतिखेर केपो हुन्छ भन्ने डरले पिरोलि रहन्छ उनलेे भनिन् ।
बस्ती पहिरोको जोखिममा , सरकारबाट टालटुल मात्रै अहिले बिस्खेतका हलिया मुक्त परिवारको बस्ती पहिरोको जोखिममा रहेको छ । २०७८ साल असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्मको अविरल वर्षाका कारणले बस्तीको तलबाट पहिलो गएपछि अहिले उक्त बस्ती पहिरोको उच्च जोखिममा रहेको हो । पहिरो गएपछि सरकारले टालटुलका लागि तटबन्ध गरेको थियोे । तर उक्त तटबन्ध टालटुलका लागि मात्रै भयो पहिरोको डर र जोखिम कायमै रहेको मुक्तहलिया खाद्य अधिकार समुहका सचिव श्यामबहादुर नेपालीले जानकारी दिए । तटबन्ध कर्मागत रुपमा हुने भनिए पनि एकपटक टालटुल बाहेक दोस्रोपटक नभएको नेपाली भने ।
अब वर्षाको समय नजिकिदै छ घरको आँगन कमजोर रहेकाले डराइ रहेका छन् प्यारु दमाई । दमाईका छोरा रोजगारीको सिलसिलामा भारतमा रहेका छन् , उनी एक्लै घरमा बस्छन् , उनलेे भने म बुढो भइसके कतिबेला पो पहिरो जान्छ डर लागि रहेको छ । हामीलाई सरकारले बस्ती त कहाँ स्थानान्तरण गरि दिन्थ्यो , अलिकति भएको यहीँ बस्ती, घरलाई बचाउनका लागि केही सहयोग गरिदिए पनि हुन्थ्यो प्यारुको भनाइ छ । त्यसैमाथि केही महिना अगाडि गएको भुकम्पका कारणले भएका घरहरू पनि चर्किएका छन् । भुकम्प आएपछि एकदुई महिनासम्म बाहिरी बसेर दिनहरु बिताए भने पछि चर्किएको ठाउँमा टालटुल गरि उनीहरू डरैडरमा घर भित्र बस्न थाले । उनीहरू सँग लालपुर्जा भएपनि घर बाहेक जग्गा जमिन केही छैन ।
१८ परिवारका केटाकेटीलाई खेल्ने र केही छलफल गर्नुपरे सारै समस्या रहेको छ । उक्त वस्तीमा आँगनको अभाव छ , कुनै विवाह भोजभतेर भए मान्छेलाई उभिन समेत ठाउँ नभएको त्यहाँका स्थानीयले बताए । बस्तीमा आफूलाई शौचालय बनाउन समेत ठाउँ नरहेको र खानेपानीको समेत समस्या रहेको उनीहरूको भनाइ छ । अहिले उक्त वस्तीमा १८ परिवारका १ सय २० जना सदस्य लगभग ४ सय वर्ग मिटर क्षेत्रफलमा बसिरहेका छन् । यो बसोबास गर्न समेत नपुग्ने ठाउँको लालपुर्जा हुनुभन्दा नभएको भएपनि हुन्थ्यो अशोक नेपालीले बताए । हामी सँग लालपुर्जा त छ , तर घरको मात्रै, परिवार संख्या बढ्यो तर जग्गा नबढ्दा बसोबासमै सास्ती खेपिरहेको समेत नेपालीले जानकारी दिए। सरकारले मुक्त हलियाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी दिने घोषणा गरेको थियो । तर बिस्खेतका हलिया केहीले गाउँमै अरुको काम गरेर जीविका चलाइरहेका छन्, भने बढी जसो स्वदेशमा केही रोजगारी नहुँदा भारत जानुपर्ने अवस्था रहेको छ । उनीहरू सँग कुनै रोजगारी छैन। उक्त वस्तीका नागरिकले सरकार बाट अहिलेसम्म एक साँझा भवन, अनुदानमा हाते ट्याक्टर र टालटुलको तटबन्ध मात्रै पाएको उनीहरूले बताए ।
उनीहरू भन्छन् सबका लागि सरकार भएपनि आफ्ना लागि सरकार नभएको जस्तो अवस्था रहेको छ । स्थानीय तह लागू भयो गाउँगाउँमा सिंहदरबार भनियो तर सिंहदरबार कता गयो ? अहिलेसम्म आफ्नो मागहरू सम्बोधन किन भएन भन्दै उनीहरू स्थानीय, प्रदेश र संघीय सरकार सँग प्रश्न समेत गर्दै आएका छन् । यता थलारा गाउँपालिका- ८ का वडाध्यक्ष टिकाराज जोशीले वडा कार्यालयबाट दलित विशेष कार्यक्रमका लागि १ लाख ५० हजार रकम विनियोजन गरिएको बताए । उनलेे आफ्नो वडामा देवस्थली , पण्डित गाउँ र बिस्खेत गरि तीन दलित बस्ती रहेका जानकारी दिए । उक्त साढे १ लाख रकम तीन वटै टोलमा बराबर गरि विनियोजन गर्नुपर्ने भएपनि , उनीहरूकै सहमतिमा योभन्दा अघिल्लो आर्थिक वर्षको बजेटबाट बिस्खेतमा साँझा भवन निर्माण गरिएको र अहिलेको बजेट देवस्थली र पण्डित गाउँमा ७५ / ७५ हजार विनियोजन गरिएको छ । स्वरोजगर कार्यक्रम अन्तर्गत बिस्खेतका हलिया मुक्त परिवारलाई बाटो निर्माण र खानेपानीका लागि १ लाख रुपैयाँ बजेट छुट्याइएको र आधा काम भइसकेको वडा कार्यालयले जनाएको छ । बिस्खेतको हलिया मु्क्त वस्ती पहिरोको जोखिम रहेकाले तटबन्धका लागि वडा कार्यालयबाट प्रदेश सरकारलाई सिफारिस पठाएको समेत अध्यक्ष जोशीले बताए । त्यस्तै दलितको जोखिम वस्तीलाई सुरक्षित एकीकृत वस्ती बनाउनुपर्छ भन्दै आफूले पालिकामा आवाज उठाएको आएको पनि उनलेे जानकारी दिए । अध्यक्ष जोशीले समस्याको पहिचान पैरवी गर्दै आएको संस्था फियान नेपाललाई आर्थिक सहयोग गर्न समेत अपिल गरे । आफू भर्खरै निर्वाचित भएर आएको सुनाउँदै उनलेे दलितका समस्या समाधानका लागि आफू अग्रसर भएर काम गर्ने पनि बताए ।