काठमाडौँ – नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय र प्रधानम्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उपाध्याय र दाहालबीच आइतबार भेटवार्ता भएको हो । भेटमा उपाध्यायले प्रधानमन्त्री दाहाललाई बिभिन्न सुझावहरु दिए ।
यस्ता छन् उपाध्यायले दिएका सुझावहरु :-
१. नेपालको अर्थतन्त्रमा बिदेशी मुद्राको अहिले ठूलो टेवा भनेको बिदेशमा रहेका श्रमिक नेपालीहरूले पठाएको रेमिटेन्स हो। हुण्डी प्रथालाई निरूत्साहित गर्न बैंकिंग च्यानलबाटै रकम पठाउने र त्यसका लागि केही प्रतिशत रकम सरकारले थपिदिने बांगलादेशको मोडल नेपालमा पनि लागू गर्नुपर्छ। यसो गरिएमा नेपाल बिदेशी मुद्राको अभावमा श्रीलंका र पाकिस्तान जस्तो तड्पिरहनु र अन्तर्राष्ट्रिय मुद्राकोषको अनावश्यक थोपरिएका सर्तहरूबाट नेपाल गुज्रनु पर्नेछैन।
२. नेपालमा दिगो ग्रामीण रोजगारी ह्वात्तै बढाउन र विदेशमा काम गर्ने युवाहरूले जोगाएको रकम उद्यममा लगानी गर्न उत्प्रेरित गर्न औद्योगिक र औषधीय प्रयोजनका लागि गॉजा खेती र ब्यावसाय गर्न तत्काल गॉजा खेती एवं ब्यवसाय नीति सार्वजनिक गर्नुपर्छ। यसका लागि विद्यमान ऐन बमोजिम नै नियमावली बनाएर सजिलै एक हप्तामा नियमावली जारी गर्न सकिन्छ।
३. नेपालका जेलमा गॉजा कसुरमा रहेका करिब १२ हजार कैदीलाई अन्य कुनै हिंसात्मक अपराध गरेका छैनन् भने अपराधमुक्त वा आम माफी दिएर कैदमुक्त गरी छाडिदिनुपर्छ।
४. गॉजा ब्यावसाय नियमन गर्न बिज्ञसम्मिलित शक्तिशाली केन्द्रीय ब्यावसायिक एजेन्सी गठन गरिहाल्नुपर्छ।
५. बिदेशमा रहेका राजदूताबासहरू बिदेशमा रहेका नेपाली जनतामैत्री देखिएका छैनन्, नेपालीको पिर मर्का नसुन्ने र हाकिमगिरी गरिरहेकाले विदेशमा रहेका नेपालीहरूमा सरकारप्रति नकारात्मक धारणा दृढ हुदै गरेको देखिन्छ। राजदूतहरूलाई यसमा गंभीर भएर नेपाली जनतामैत्री बन्न निर्देशनका साथै निगरानी गर्नुपर्छ।
६. सरकारले गरेका जनमैत्री सकारात्मक कामहरूलाई नियमित बुटेलिनमार्फत जनतामा आफै संप्रेषण गरिरहनुपर्छ।
७. नेपाली युवाहरूमा ब्याप्त बिद्रोही भावना चरम बेरोजगारी र सुशासनको अभावले हो, युवाहरूलाई संवोधन गरेर आगामी बजेटमा असल नीति घोषणा गर्नुपर्छ।
प्रधानमन्त्री दाहालले रचनात्मक आलोचना गर्न पनि आग्रह गरेको उपाध्यायले बताए । ‘तपाईँले निडर र स्वच्छ मनले सोसल मिडियामा नियमित अविचलित भएर लेख्नुभएको कुराहरू हामीहरूले पढ्ने गरेका छौँ,।’ प्रधानम्त्री दाहालको भनाइलाई उदृति गर्दै उपाध्यायले भने, ‘हामीबीच भौतिक भेट नभए पनि सोसल मिडियामा निरन्तर भेट भइरहेको हुन्छ। यसलाई निरन्तरता दिइरहनुहोला। तपाईँका कुराहरूलाई हामीले संवोधन पनि गरिरहेका छौँ र गर्नेछौँ। अरू यस्ता सुझावहरू लिखित रूपमा मेरा सहयोगीमार्फत मलाई पठाईदिनुहोला, आवश्यक भए पुनः छलफल गर्न परे गर्नुहोला। सबै मिलेर मुलुकलाई सम्पन्न बनाउनु छ।’
बालुवाटारमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्णबहादुर खड्का, कृष्ण महरा, गिरिराजमणि पोखरेल र अन्य प्रमका सहयोगीहरूसंग पनि कुराकानी भएको उपाध्यायले जानकारी दिए ।