काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने पनि बताएका छन् ।
रास्वपाका सांसद डा. ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि रविलाई दुई करोड बुझाउनुपर्ने बताएका छन् ।
चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका लामिछानेले त्यही अडियोलाई चुनावी हतियार बनाउन खोजिएको बताएका हुन् । लामिछानेले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भएभरको शक्ति लगाइँदै छ ।’ रविले पैसाको लेनदेन हुनु त परेको कुरा, लेनदेनको कुरा मात्र गर्दा पनि नसहने बताएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं । कडाभन्दा कडा कारवाही गर्छौं । बेथितिको बचाउ गर्दैनौं । बरु उदाङ्दो पारी दण्डित गर्छौं । २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ ।’
रास्वपा नयाँ पार्टी भएकाले मान्छे चिन्न गाह्रो भएको बताएका छन् । तर नयाँ भए पनि पार्टीमा विधि भएकाले चिन्ता गर्न नपर्ने उल्लेख गरेका छन् । ‘हो, पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन । रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नु पर्छ,’ लामिछानेले लेखेका छन्, ‘…आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ ।’