काठमाडौँ – रवीन्द्र जडेजा र अजिन्का रहाणेको उत्कृष्ट प्रदर्शनमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ।
पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएपछि यो सिजनमा लगातार दोस्रो जित निकाल्ने क्रममा शनिबार चेन्नईले मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्यो। मुम्बईले दिएको १५८ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो।
खराब सुरूआत गरेको चेन्नईले पहिलो ओभरमै ओपनर डेभन कोनवेको विकेट गुमाए पनि दोस्रो विकेटका लागि ऋतुराज गाइक्वाड र अजिन्का रहाणेले ८२ रनको साझेदारी गरेका थिए। उत्कृष्ट ब्याटिङ गरेका रहाणेले पावरप्लेमै यस आईपीएलको सबैभन्दा छिटो अर्धशतक बनाए। १९ बलमा आफ्नो अर्धशतक पूरा गरेका उनले ६ चौका र ३ छक्का हिर्काए।
जारी आईपिएलमा यो अहिलेसम्मकै छिटो अर्धशतक हो। ४४ बलमा ८२ रनको साझेदारी गरेपछि रहाणेले २७ बल खेलेर ६१ रन बनाएर आउट भए। यसपछि शिवम दुबेले गायकवाडसँग चौथो विकेटका लागि ४३ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याए। दुबेले २८ रन बनाए।
ऋतुराज गायकवाडले ४० रन बनाएर अविजित रहे भने अम्बाती रायडू २० रन बनाएर नटआउट रहे। मुम्बईका लागि जेसन ब्रेनडर्फ, पियुस चावला र कुमार कार्तिकेयले समान १-१ विकेट लिए। त्यसअघि मुम्बईको वानखडे रंगशालामा पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो।
मुम्बई इन्डियन्सका लागि इशान किसानले सर्वाधिक ३२ रन बनाए। यस्तै टीम डेभिडले ३१ रन बनाउँदा तिलक बर्माले २२ तथा कप्तान रोहित शर्माले २१ रन बनाए। उत्कृष्ट सुरूआत गरेको मुम्बईले पहिलो विकेटका लागि ४ ओभरमा कप्तान शर्मा र इशान किसानले ३८ रनको साझेदारी गरेका थिए। तर त्यसपछि कुनै पनि ब्याटरले राम्रो साझेदारी गर्न नसक्दा मुम्बई ठूलो स्कोर बनाउन चुकेको थियो।
मुम्बईलाई सस्तैमा रोक्न चेन्नईका रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए। मिचेल सान्टेनर र र तुसार देशपाण्डेले २-२ विकेट लिए। यो जितसँगै चेन्नईले ३ खेलमा २ जितसहित ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। यस्तै दिल्लीमाथि सहज जित निकालेको राजस्थान समान अंक भएपनि रनरेटमा शीर्ष स्थानमा छ।