काठमाडौँ – सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको छ। यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो। आन्दोलनकारीले उक्त रकम अस्वीकार गरेका थिए। लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने उनीहरूको माग थियो।
प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्ब प्रहरीको लाठी लागेर घाइते भएका थिए। उपचारका क्रममा चैत १० गते उनको मृत्यु भएको थियो।