काठमाडौं– आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिदैंछ । यसैगरी उम्मेदवारहरुलाई चुनाव चिह्न पनि आजै वितरण गरिंदै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ । उम्मेदवारले आज चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । तनहुँ–१, बारा–२ र चितवन–२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । यसका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो ।
गत मंसिर ४ को निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि र चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा पदमुक्त भएकाले ति क्षेत्रहरुमा उपनिर्वाचन हुन लागेको हो । नेपाल टेलिभिजन