दार्चुलाकाे हुनैनाथ औतालेककाे संक्षिप्त परिचय

मान सिंह धामी
सुदूरपश्चिम प्रदेश महाकाली अञ्चलको बिकट पहाडी दुर्गम जिल्ला दार्चुलाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर –४ मा पर्ने प्राकृतिक सुन्दर रमणीय गाउँ हुनैनाथ हो । हुनैनाथ औतालेक एउटा धार्मिक, ऐतिहासिक, प्राकृतिक रुपले रमणीय र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो । प्राचीन कालमा हुनैनाथ औतालेकको नाम सेरोफेरो थियो । सायद यस क्षेत्रको चारैतिर नागबेली आकारमा रहेका पहाड श्रृङ्खला र वरपर गाउँबस्ती भएको कारण सेरोफेरो भनेको हुनु पर्दछ भन्ने बुझाइ रहेको छ । बाह्रौं सताब्दीको मध्यतिर हुनैनाथ देवताको यस क्षेत्रमा अवतार भए पछि यो ठाउँलाई अवतारीलेक भनिन थालियो । पछि अवतारीलेक शब्द अपभ्रंश भएर औतालेक नाम रहन गएको हो । हुनैनाथ औतालेकलाई औल लेक पनि भनिन्छ । किनकी उष्ण हावापानी भएको ओजीगाड खोला किनार आसपासको क्षेत्रलाई औल र माथि चिसो हावापानी भएको टुप्पो पहाडी श्रृङ्खलालाई लेक भनिने हुँदा यी दुई शब्द औल र लेक मिलेर “औल्लेक“ नाम रहन गएको हो । मेरो बुझाईमा औतालेक र औल्लेक दुबै समानार्थी शब्द हुन । मलाई भने औल्लेक अति नै मन पर्ने शब्द भएकोले अब देखि म औल्लेक भनेर नै यो लेखमा लेख्ने छु । म बिरानो नभएर औल्लेकी नै हुँ । हाल औल्लेकको गोठ्युडी भौनबाटा भन्ने ठाउँमा बसोबास भए पनि औल्लेकमा पनि मेरा पुर्खाको गडो (जमिन) हालसम्म पनि छ । हामी औल्लेकीहरू हाल जो जहाँ बसे पनि औल्लेकी भनेर नै चिनिएका छौं । औल्लेक क्षेत्र भित्र विभिन्न गाउँबस्तीहरू रहेका छन् ।
औल्लेक गाउँको सिरानमा आराध्यदेव हुनैनाथको मन्दिर रहेको छ । आराध्यदेव हुनैनाथ स्वामीलाई कोटी कोटी नमन गर्दछु । हुनैनाथ स्वामी को हुन ? यिनको महिमा, अलौकिक शक्ति आदिको बारेमा मैले यो भन्दा अगाडीको लेखमा उल्लेख गरिसकेको छु । औल्लेक भित्र विभिन्न गाउँहरू रहेका छन । मालिकार्जुन गाउँपालिका अन्तर्गत हुनैनाथ वडा नम्बर –४ को क्षेत्रफल ११.६९ वर्ग किलोमिटर रहेको छ ।
औल्लेक भित्रका गाउँबस्तीहरू प्रायः उर्बर कृषियोग्य भूमि, जसमा पूर्वमा ऐरीछाना, दुवाचौड, गोठ्युडी, पश्चिममा गुरुम, सिलाजो, टाटिक, कोटिला, उत्तरमा चन्दनपुर, रतोडा, चोल्थी र दक्षिणमा औतालेक, क्यासिरी, जिउँछे आदि गाउँहरू रहेका छन् । वनजंगलहरू शौलेवन, सिन्याडीवन, छ्यौडावन, रानीपातलवन, पाटा, जिउँछे पत्थरखानी, हल्देरौडा, हलगढी वसन्ढुङ्गा वन, भूमिराज सामुदायिक वन टाटिक, हुन्शिकर सामुदायिक वन, कोटिला वन क्षेत्र रहेका छन् । हुनैनाथ औल्लेक क्षेत्र भित्र लेकाली, मध्य पहाडी र बेसी भागहरू पर्दछन् । लेकाली भाग अन्तर्गत गोठ्युडीको टुप्पो स्याउलेको डाँडा, चोल्थी, कोटिला, औतालेक, जिउँछे र गौंराबनौना गाउँहरू पर्दछन् । यी गाउँहरूमा हिउँदमा अलि बढी जाडो हुने र हलुका हिमपात समेत हुने गर्दछ । मध्य पहाडी भाग अन्तर्गत गोठ्युडीको तल्लो भाग, रतोडा, क्यासिरी गाउँहरू पर्दछन् । बेसी भागहरूमा ओजीगाड, अपडखेत, जमुना बगर, सिलाजो, टाटिक लगायतका गाउँहरू पर्दछन् ।
औल्लेक क्षेत्र भित्र पाईने विभिन्न फलफूल तथा वनस्पतिहरूमा– बाँज, गुराँस, सल्लो, फल्याट, कटुँस, काफल, ओखर, सुन्तला, मौसमी, मोतीकाँकडी, अमृतफल (चालिसो), आरु, आरुबखडा, खुमानी, स्याउ, चिउरी, नासपाती, टुणी, धुईयो, बेल्टो, पैंयो, दुदिलो, आँप, अमला, ओखर, कोइराल, हलुवावेद, चुक, जामिर, कागती, नासपाती, खर, खन्यो, बाँज, करमफल, भोगटे, किम, तिमिलो, कटमडो, अम्बा, मेवा, केरा, दालचिनी, साल, हर्राे, मेल, उतिस, अँजेरु, किरमडा, ऐंसेलु, ओलिसो, भ्यल, बर्राे, जामुन, गिठी, सिर्पा, रिठा आदि पाइन्छन् ।
यस क्षेत्रमा पाईने जंगली तथा पाल्तु जनावरहरू रतुवा, बँदेल, घोरल, खरायो, वनबिरालो, चितुवा, मलबोसो, ओद, छेपारो, सर्प, स्याल, बाँदर, लंगुर, व्बाँसो, ग्वाणो, सडो (दुम्सी), बिरालो, मुसा, छुचुन्द्रो, गाई, भैंसी, बाख्रा, घोडा, खच्चर आदि पाइन्छन् । गडानी खोला, ओजीगाड र च्युरीगाडमा माछा, भ्यागुता, गंगटो आदि जलिय जीवहरू पाइन्छन् । पंक्षीहरू काग, ढुकुर, कोइली, न्यउलो, सुगा, कालिज, च्याखुरा, तितरा, भंगेरा, कठफोरा, चमेरो, बाज, वनकुखुरा, चील, गिद्द, लाटोकोसेरो, लामपुछ्रे, कल्चौंडो, सिन्टोलो (डाङ्रे), कौकातो, गौथली, सिंङारी, घुक (हुबाग), गडमाल्ली, भेकुणो आदि प्रजातिका चराचुरुङ्गीहरू पाइन्छन् ।
औल्लेक क्षेत्र भित्र आर्य हिन्दुहरू बसोबास गर्दछन् । हाल यहाँ खस आर्यन हंशराज भट्टका सन्तान औल्लेकी धामीहरूको बाहुल्यता रहेको छ । अन्य जातिहरूमा अवस्थी ब्राह्मण, ओझा ब्राह्मण, खत्री, बोहरा, रावल, मडाल धामी र उक्त बाहेक लोहार, पार्की, ढोली थरका मानिसहरू बसोबास गर्दछन् । यस क्षेत्रमा हिन्दु संस्कृति अनुसार विभिन्न चाडपर्वहरू धूमधामपूर्वक मनाइन्छन् । यस्ता चाडपर्वहरूमा बिषु तिहार, रक्षा बन्धन (जनै पूर्णिमा), ओल्के संक्रान्ती, नाग पञ्चमी, हरेलो चढाउने, कृष्ण जन्माष्टमी, गौरा पर्व, खेडी, धोडी, लमधोडी, तीज पर्व, ऋषि पञ्चमी, सोह्र श्राद्ध, न्वाकी चढाउने, दशैं (नवरात्री), बुढी पोल्ने, तिहार (दिपावली), जौलजिबी मेला, पौष पन्ध्रकी रात, माघे संक्रान्ति, श्रीपञ्चमी, महा शिवरात्री, होली पर्व, राम नवमी, चैतको भेटौलो आदि चाडपर्वहरू मनाइन्छन् । औल्लेक क्षेत्र भित्र विभिन्न बालीनालीहरूको उत्पादन हुने गर्दछ । यस क्षेत्रमा पर्याप्त मात्रामा भटमासको उब्जनी हुने गर्दछ । अन्य बाली तथा दलहनहरूमा धान, मकै, गहूँ, कोदो, जौं, मसुर, सोट्टा, गहत, मास, कागुन, आलस, सरसों, तोरी, गुरौंस, केराउ, सिमी आदि उत्पादन हुने गर्दछन्।
यस हुनैनाथ औल्लेकमा विभिन्न सामाजिक, धार्मिक परम्परा र संस्कारहरू रहेका छन् । बाह्रौं शताब्दि तिर मोहम्मद गोरीको गंगाको मैदानी भागमा आक्रमण हुँदा सो स्थान छोडेर नेपाल प्रवेश गरेका वैदिक हिन्दुहरूले खसहरूलाई आफ्नो प्रभावमा पारेको पाइन्छ । फलस्वरुप खस जातिले मठ मन्दिरमा हिन्दु देवीदेवताको मुर्ति स्थापना गरेर वैदिक हिन्दु पुजारीहरूद्वारा पुजाआजा गर्ने चलनको सुरुवात गरेका हुन । करीब बाह्रौ तेह्रौं शताब्दितिर गडवाल कत्यूरबाट आप्रवासी आर्यनहिन्दुहरू हाल यस क्षेत्रमा बसोबास गर्दछन् । धार्मिक परम्परा अनुसार यिनीहरू शिव, विष्णु, गणेश, राम, कृष्ण, ब्रह्मा, भगवती, गौरी, लक्ष्मी, सरस्वती, दुर्गा, हुनैनाथ, बालिचन, मालिकार्जुन, शुन्सिखर, भागाश्री लगायतका देवीदेवताको पुजापाठ गर्ने गर्दछन् । विभिन्न देवी देवताको जपध्यानगरि पुजापाठ गर्नाले आत्म शुद्धीहुने, देवी देवता र पितृहरू खुसीभएर सुःख समृद्धीहुने जनविश्वास रहेको छ । यस क्षेत्रमा गरिने विभिन्न संस्कारहरूमा जातकर्म, षष्ठी खेलाउने, नामाकरण, अन्नप्रासन (पासनी), कर्णवेध, चुडाकर्म, वेदारम्भ (अक्षराम्भ), व्रतवन्ध (उपनयन), विवाह, मृत्यु संस्कार, श्राद्ध लगायतका संस्कारहरू गचछेअनुसार मनाइन्छन् । त्यसैगरि अन्य चाडपर्वहरू … यसैगरी हुनैनाथ औल्लेक क्षेत्र भित्रका भाषाभाषी र भेष–भूषाहरू पनि उल्लेखगर्नु सान्दर्भिक होला ठानेको छु । यस क्षेत्रमा बोलिने प्रमुख स्थानीय भाषा डोटेली नै हो । जसलाई दार्चुलेली भाषा पनि भनिन्छ ।
यो भाषालाई सुदूरपश्चिमका प्रायः सबै क्षेत्र र कर्णाली प्रदेश तथा भारतको कुमाऊँ क्षेत्रसम्मका मानिसहरू सबैले बुझ्दछन् । धेरै जसो ठाउँमा यो भाषाको मिश्रित भाषा बोलिन्छ पनि । यस भाषालाई कोमल, कर्णपृय सरल र पुरानो भाषाकोरुपमा लिइन्छ । यस बाहेक सरकारी कामकाजको राष्ट्रभाषा नेपाली पनि सबैले बुझ्दछन् र कतिपयले बोल्ने गर्दछन् । भेषभूषामा पुरुषहरूले कमिज, पाइन्ट, कोट, सुरुवाल, गन्जी, कच्छा (कट्टु), भादगाउँले टोपी, ढाका टोपी, वनियान, भेस्ट, इष्टकोट, जोहारीकोट, सफारी सुट, जाकेट आदि लगाउने गर्दछन् । महिलाहरूले विवाह पूर्व कुर्ता, सुरुवाल, लेगी, कमिज, पाइन्ट, भेस्ट, स्वीटर, आउटर, दुपट्टा (चुन्नी) आदि लगाउने गर्दछन् भने विवाह पश्चात साडी, ब्लाउज, धोती, पेटीकोट, लुङ्गी, मुणेठो, फरिया, चौवन्दी चोली, आङडो, भोटो, पछ्यौरा, कुर्ति, सुरुवाल, मेक्सी तथा उमेर पुगेका बुढापाका महिलाहरूले घाँग्रो लगाउने गर्दछन् । साथै कम्मरमा सेतो पटुकी बाध्ने गर्दछन ।
महिलाहरूले लगाउने परम्परागत घाँग्रोको बारेमा थोरै जानकारी गराउन चाहे । यो महिलाहरूले साडीको बदलामा लगाउने छिट वा कटनद्वारा निर्मित बुट्टेदार ८–१० मीटरको फराकिलो रानाथारुहरूको पोशाकसंग मिल्दोजुल्दो पोशाक हो । परम्परागत यो पोशाकको आफ्नै महत्त्व रहेको छ । चौवन्दी चोली र घाँग्रो अति नै भलादमी पोशाक हो । अहिलेको आधुनिकतालेगर्दा यो पोशाक आझेलमा पर्दै गएको छ । महिलाहरूको गरगहानाहरूमा गलोवन्द, रानीहार, तिलहरी, चौखट, सुता, चाँदीका रुपैयाँको हैकलमाला (चौअन्नी, अठअन्नी वा भिक्टोरिया रुपयाँको माला), नथ्थु (नथिया), मंगलसूत्र, मुनडा (मुन्द्री), बुलाकी, पैंडा (चाँदीबाट निर्मित खुट्टामा लगाउने), पायल, पौंजी, कण्ठाश्री, चन्द्रहार–झुमझुमी, चरेवापोते, मुगाको माला, चाँदीको बाला आदि गहनाहरू लगाउने गर्दछन् ।
खानाका परिकारहरूमा सेलरोटी, लाउन, पुरी, खजुरा (मुख्य राजसी खान), माणा, बाडी, कसार, मिनजरी (धुलो), मौरी, खिचडी, जाउलो, छाँई बटुक, गुन्द्रुक, बाबर, बटुक, खीर, दाल,भात, तरकारी, डुब्का, हलुवा, सैय्या, रोटी, फुल्क्या रोटी, घिउ केला, घिउ गुड, तरकारी, छाँई हालेको साग, दूध, धिनाली (दही), छाँई, घारो, फाणो, रोट (भटमास, मास, सोट्टाको मस्युटो हालेर बनाईएको), पलेउ, कुरौनी, झँज्या रोटी आदि खानाका परिकारहरू खाने गर्दछन् । परम्परागत आभूषण, पोशाक, खानपानमा समय सान्दर्भिक परिवर्तन हुँदै गएको देखिन्छ । यो लेख पढ्दै गर्दा पाठकहरूको मनको थकानलाई बिट मार्नको लागि यस हुनैनाथ औल्लेक क्षेत्रमा मनाइने वर्षदिनको मनोरञ्जनात्मक मेला जौलजिबी मेलाको बारेमा संक्षिप्त वर्णन गरिएको छ ।
जौलजिबी मेला !!!
दार्चुला जिल्लाको जौलजिबी भन्ने ठाउँमा महाकाली नदीले भारत र नेपाललाई सिमाँकन गरिदिएको छ। जौलजिबी वारी र पारी मंसिर –१ गते देखि १०÷१२ गते सम्म प्रत्येक वर्ष ठुलो मेला लाग्ने गर्दछ। उक्त मेला भर्न हाम्रो नेपालको तर्फबाट जुम्लाबाट सयौंको सङ्ख्यामा घोडाहरु जान्छन । भारतमा टाढा टाढाबाट आएका भारतीयहरु घोडाको मोल मोलाई गरी घोडाहरुको किनबेच गरिन्छ। जौलजिबी मेला दार्चुलाबासीका लागि ठुलो पर्वको रुपमा लिइन्छ। भारतमा पनि मुम्बई, दिल्ली, मथुरा लगायतका विभिन्न ठाउँबाट प्रत्येक वर्ष ब्यापारीहरु मेला भर्न आउने गर्दछन् । जौलजिबी मेलाको बारेमा चित्रण गर्दैगर्दा उक्त ठाउँको परिदृश्यको बारेमा वर्णन गर्नु सान्दर्भिक होला जस्तो लाग्छ। जौलजिबी दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत वडा नम्बर –७ मा महाकाली नदीको किनारमा अवस्थित रमणीय ठाउँ हो। अहिले त सडक बाटो घाटो यातायाको सुबिधा आदिले गर्दा व्यापार व्यवसायमा गति लिन नसके पनि पहिलेको भने व्यपारिक नाका नै हो। महाकाली नदीको पारी भारतमा पनि जौलजिबी रहेको छ। उक्त ठाउँ महाकाली नदी र गोरी गंगा नदीको संगम दोभानमा अवस्थित छ। महाकाली नदीमा भारत नेपाल जोड्ने झोलुङ्गे पुल रहेको छ। मेलाको बारेमा वर्णन गर्दैगर्दा यसको सुरुवातीलाई पनि उल्लेख गर्नु सान्दर्भिक ठानेको छु ।
२० औं शताब्दिको सुरुवात सन १९१४ मा भारत अस्कोटका पाल रजा गजेन्द्र बहादुर पालले जौलजिबी मेलाको सुरुवात गरेका हुन् । त्यति बेला जौलजिबी अति नै दुर्गम क्षेत्र थियो । यहाँबाट आवश्यक सामान किनमेल गर्न मानिसहरू पैदल अल्मोडा वा टनकपुर जाने गर्दथे । मानिसहरूको दुःख कष्टलाई ध्यानमा राखेर बर्षभरीकोलागि चाहिने सबै मालसामानहरू एकमुष्ट मेलामा नै उपलब्ध गराउने अभिप्रायले तल्लो मल्लो अस्कोटको केन्द्रबिन्दु महाकाली नदी र गोरी नदीको संगम स्थल दोभानमा अवस्थित अति रमणीय स्थान जौलजिबी (भारत) मा अस्कोटी राजाले यो मेलाको सुरुवात गरेका हुन् । मेलाको लागि चाहिने आवश्यक सरसामानको लागि आगरा, मथुरा, बरेली, दिल्ली, रामपुर मुरादाबाद, मेरठ, काशीपुर, रामनगर , अल्मोड़ा, हल्द्वानी र टनकपुरका व्यापारीहरू यस मेलामा आउने गर्दछन् । उक्त मेलामा मित्र राष्ट्र नेपाल र छिमेकी देश तिब्बतका व्यापारीहरूलाई पनि बोलाएकादथिए । मेलामा नेपाल र तिब्बतीहरूको उपस्थितीले गर्दा अन्तर्राष्ट्रिय स्तरको मेला हुन पुग्यो । यो मेला सुरुवातमा एक महिनासम्म लाग्ने गर्दथ्यो । सन १९६२ मा भारत र चीन बीच युद्धभएपछि मेलामा तिब्बतीहरूको उपस्थिती बन्द भयो । तीस वर्षपछि भारत–चीन व्यापार प्रारंभ भएपछि फेरी भारतीय व्यापारी तिब्बती सामानहरूको पसल लगाउन थालेका हुन् ।
अतः जौलजिबी मेला दार्चुलाबासीहरूको लागि एक महत्त्वपूर्ण चाड मेलाको रुपमा रहेको छ । मेलामा चर्खा, सर्कस, कलाकारहरुको सानदार प्रस्तुती, रामलिला, भाँडाकुँडा , कपडा, मिठाईका परिकारहरू आदि सबै सुपथ र सुलभ मूल्यमा उपलब्ध हुन्छन् । दार्चुला जिल्लाका नौ वटै स्थानीय तहबाट हजारौंको संख्यामा मेला भर्न जाने गर्दछन् । घरमा उत्पादित घिउ, मह, सुन्तला, भटमास तथा अन्य दलहन, गुड लगायतका खाद्यवस्तुहरू जौलजिबी मेलामा बिक्रीवितरण पनि गरिन्छन् । नेपालको जुम्लाबाट आयातित घोडाहरू पनि मेलाको विशेष आकर्षणको रुपमा रहेका हुनेछन् । समग्रमा महाकाली नदीले सिमाङ्कन गरेको नेपाल र भारतको सिमाना जौलजिबीमा प्रत्येक वर्ष मंसिर –१ गतेबाट १०÷१२ गते सम्म ठुलो मेला लाग्ने गर्दछ । अन्त्यमा यो लेख पढेर आवश्यक सुझावको अपेक्षा सहित कलमलाई बिट मार्छु । धन्वाद !!!
हुनैनाथ स्वामीले हामी सबैको कल्याण गरून् ।
जय हुनैनाथ स्वामी !!!
श्रोत सामग्री :
धामी, राजेन्द्र र दामोदर (२०७८), आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली । गोकुलेश्वर दार्चुला ।
पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको इतिहास, महेन्द्रनगर ।
जोशी, गणेशराज (२०७६), मधुवन, शभकामना प्रकाशन । प्रा.ली. : काठमाण्डौ
पाण्डेय, बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास, भारत
बाँकी संस्मरणमा … क्रमशः
मान सिंह धामी
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना : मालिकार्जुन गाउँपालिका हुनैनाथ –४ गोठ्युडी (भौनबाटा), दार्चुला

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्