काठमाडौं – आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका रिक्त क्षेत्रको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुने भएकाे छ । चितवन-२, तनहुँ-१ र बारा-२ मा सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएकाे हाे। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रमा खडा गरिएका निर्वाचन कार्यालय मार्फत मनोनयन दर्ता गर्न सकिने जनाएको छ ।
त्यस्तै, आयोगले आइतबार नै उपनिर्वाचन सम्बन्धि १० बुँदे निर्देशन पनि राजनीतिक दलहरूका लागि जारी गरेको छ । उम्मेदवारको मनोनयन गर्न जाँदा दलहरूले उम्मेदवार र समर्थक प्रस्तावकसहित २५ जना भन्दा बढीको समूह लैजान नपाइने र बाजागाजा वा झाँकी प्रदर्शन गर्न समेत नपाइने आयोगले जनाएकाे छ ।
त्यस्तै, उम्मेदवारको पहिचान, लोगो, टिसर्ट र ज्याकेट समेत लगाउन नपाइने आयोगको निर्देशनमा उल्लेख गरिएकाे छ ।