काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनहुँ जाने भएका छन् ।सभापति लामिछाने चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ–२ हुने मनोनयन दर्ताका लागि पुग्ने पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।
उनका अनुसार चैत्र २० गते बिहान ९ बजे भरतपुर महानगर– ११ विशाल चोक राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९ः३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ । ‘ त्यस पछि २ बजे सभापति तनहुँको दमौलीमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ,’ उनले भने । उनका अनुसार बारा– २ मा रमेश खरेलको उम्मेदवारी मनोनयन दर्ता गर्नका लागि भने पार्टी उपसभापति डीपी अर्याल जानेछन् ।