काठमाडौँ – दाङमा बिरामी आफन्त भेट्न आउँदै गरेका प्युठानका एक व्यक्तिको मोटरसाइकल दुर्घटनामा परी बाटोमै मृत्यु भएको छ। उनका श्रीमती र छोरी गम्भीर घाइते छन्। प्युठान, नौबहिनी गाँउपालिका वडा नम्बर ६ का ३२ वर्षीय राजन केसीको उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राजनकी श्रीमती २६ वर्षीया सन्ध्या केसी र २ वर्षीया छोरीको अवस्था गम्भीर रहेको छ । उनीहरू दुवै अचेत छन्। उनीहरूको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
सोमबार बेलुका ६ बजेतिर घोराहीबाट लमहीतर्फ जाँदै गरेको ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले राजनले चलाएको बागमती प्रदेश ०२–०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही–लमही सडक खण्डको घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानीमा ठक्कर दिएको थियो। उनीहरू दाङमा एक जना बिरामी आफन्तलाई भेट्न भनेर घोराहीतर्फ आइरहेको खुलेको छ। छोरीलाई मोटरसाइकलको बीचमा राखेर यात्रारत उनीहरूलाई कुखुरा बोक्ने मिनी ट्रकले ठक्कर दिएको थियो।