काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन् । प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजान भनेको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् ।परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जेनेभा जाने तयारीमा थिइन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्ने छ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।