काठमाण्डौ – यातायात व्यवसायी राष्ट्रिय महासङ्घ नेपालले सबै प्रकारका गाडी र हवाई यातायात तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर महासङ्घले देशमा जुनसुकै बेला पनि भयावह अवस्था आउन सक्ने भन्दै सार्वजनिक मात्र नभइ निजी गाडी र हवाई उडान पनि तत्कालै बन्द गर्न माग गरेको हो ।
‘अहिले लामो दुरीका गाडी मात्रै रोक्ने निर्णय व्यवहारिक छैन, छोटो दुरी र हवाई सेवा पनि तत्कालै बन्द गर्नुपर्छ भन्ने माग राखेका छौँ, यसमा मन्त्रीको मौन समर्थन रहेको छ, केही कानुनी कुरा मिलाउनुपर्ने बताउनुभएको छ’, महासङ्घका महासचिव सरोज सिटौलाले भने ।
विश्वका धेरै देश ठप्प भइसकेको अवस्थामा नेपालमा निजी गाडी र जहाज चल्न पाउने अरु चल्न नपाउने निर्णय भरपर्दो नभएको यातायात व्यवसायीको भनाइ छ ।
‘यस्तो सङ्कटको बेलामा हामीले व्यापारको मुख हेर्नुहुँदैन, मानिस रहे व्यापार हुने हो । अहिलेको अवस्थामा यातायातका सबै साधन तत्कालै बन्द हुनुपर्छ’, महासचिव सिटौलाले भने ।
छलफलमा यातायात मन्त्री नेम्वाङ, मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, यातायात व्यवसायी लगायत सहभागी थिए ।