काठमाडौं – आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु हुँदैछ । विहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइने भएकाले मतदाताले आफ्नो अनुकुलतामा मतदान गर्छन् ।
मतदाता नामावलीमा नाम भएका व्यक्तिलाई मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य प्रमाणका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ । कतिपय ठाउँमा झुक्याएर वा अन्य उपायले अर्कैको नाममा मतदान गर्ने प्रवृत्ति पनि हुन्छ । मतदान केन्द्रमा पुग्दा अर्कैले उसको नाममा मतदान गरेको भए के हुन्छ होला ?
यो विषम परिस्थितिको अनुमान गरेर निर्वाचन आयोगले हरेक पटक नियम बनाउँदा वैकल्पिक व्यवस्था गरेको हुन्छ । सुरुमा फर्जी मतदाताले खसाल्ने मत मतपेटिका पुगिसक्ने तर उसले खसालेको मत कुन हो भनेर छुट्याउन सक्ने अवस्था हुदैन । त्यसैले सुरुमा फर्जी मतदाताले खसालेको मत रद्द गर्न सम्भव हुदैन र गरिदैन पनि । तर पछि मतदान केन्द्रमा पुगेको वास्तविक मतदाताले मतदान गर्ने अवसर पाउँछ ।
आफ्नो नाममा अर्कैले मत खसालेमा वास्तविक मतदाताले मतदान गर्न पाउँछन् । तर उसले व्यक्त गरेको मतलाई ‘निविदा मतपत्र’ भनिन्छ र मतपेटिकामा नखसाई छुट्टै खाममा राखिन्छ । कुनै मतदाता मतदान केन्द्रमा जाँदा उसको नाममा अर्कैले मत खसालेको पुष्टि भएमा उसले मतदान अधिकृतलाई वास्तविक मतदाता आफू रहेको भनी दावी गर्न पाउँछ ।
मतदान अधिकृतले ऊ वास्तविक मतदाता हो होइन बुझ्ने काम गर्छ । वास्तविक मतदाता हो भन्नेमा मतदान अधिकृत विश्वस्त भएमा मतदान अधिकृतले अभिलेख राखेर त्यस्तो व्यक्तिलाई निविदा मतपत्र दिनु पर्नेछ । मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्छ र मतपत्रमा पनि ‘निविदा मतपत्र’ लेख्नुपर्छ । त्यो मतपत्र मतपेटिका भित्र नखसाली छुट्टै खाममा राखी निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने निर्देशिकामा व्यवस्था छ । त्यस्तो मतपत्र मतगणना गर्दा गणना गरिदैन । तर निर्वाचन सम्बन्धी उजुरी परेमा र निर्णय गर्न आवश्यक पर्ने भनी अदालतले ठहर गरेमा निविदा मतपत्रहरू समेत गणना गर्ने र त्यसका आधारमा मतगणनाको नतिजा सार्वजनिक गर्नुपर्ने हुन्छ ।