काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गरेका छन् । बडादसैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उहाँले दसैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
दसैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रको समुन्नति र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरे।
प्रकृतिको सुन्दर छटामुनि रहेका हामी नेपाली धर्म, संस्कार, संस्कृति, परम्परा र मूल्यमान्यताले अत्यन्त धनी रहेको उल्लेख गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने सबैखाले चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको बताए । नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना थर्दै उपराष्ट्रपति पुनले दसैँ, तिहार, नेपाल संवत् र छठजस्ता महत्वपूर्ण चाडपर्वलगत्तै सार्वभौम नेपाली जनताको महान् उत्सवको रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको उनले बताए ।
संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षको रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागिता जनाउन तथा सार्वभौम मताधिकार प्रयोग गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आग्रह गरे । “दसैँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गर्न ऊर्जा प्रदान गरोस्”, उनको शुभकामना सन्देशमा उल्लेख छ । रासस