प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ का लागि तय भएको निर्वाचनका लागि असोज २ मा समानुपातिकतर्फको बन्दसूची बुझाउनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ । त्यसलाई मध्यनजर गरेर सांसदहरूले बिदाइ सम्बोधन गरिरहेका हुन् । विदाई सम्बोधन गर्दै कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसद रंगमती शाहीले सम्बोधनको अन्त्यमा आफ्नै मातृभाषामा ‘निको भन्या सम्झिझाया, छुच्चो भन्या बिर्सिझाया ।’ भनेकी छिन् । उनले राम्रो भनेको भए सम्झिनुहोला र केही नराम्रो बोलेको भए विर्सिदिनुहोला भनेर संसादहरुलाई आग्रह गरेकी हुन् ।
कांग्रेसकी सांसद शाहीले ’शून्य समय आज मेरो कार्यकालका लागि अन्तिम दिन होला । सर्वप्रथम मलाई यस गरिमामय सदनमा छिर्न लगाउने नेपाली कांग्रेसलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । मलाई यस गरिमामय संसद्मा आफ्नो भनाइ राख्न समय उपलब्ध गराउनुहुने सभामुख, संसदीय दलका प्रमुख सचेतक, सचेतक लगायत संसद् सचिवालयका कर्मचारी र माननीयहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले सदनलाई सम्बोधन गर्दै भनिन्, ’अन्तमा कर्णालीबाट प्रतिनिधित्व गर्ने क्रममा मैले कर्णालीका पीडा पोख्ने क्रममा कुनै मन्त्री सांसदहरूलाई व्यक्तिगत रिसिइबी नभई पीडा पोख्ने क्रममा चित्त दुखेको छ भने मलाई क्षमा गर्नुहोला ।’ त्यसपछि सांसद शाहीले आफ्नो मातृभाषामा सबैलाई आग्रह गरिन्, ’निको भन्या सम्झिझाया, छुच्चो भन्या बिर्सिझाया ।’