काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्ने चार मापदण्ड तोकेको हो ।
बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । ती नेताका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् । त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने कांग्रेसको मापदण्ड बनेको छ ।
त्यस्तै प्रतिनिधिसभामा समानुपातिकबाट हाल सांसद भएको व्यक्ति पनि अब प्रदेशमा गएर समेत फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरेको छ । उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेर सन्तुलनलाई आधार मानेर पार्टीको पक्षमा लोकप्रिय मत थप्न सक्नेलाई समानुपातिक उम्मेदवार बनाउने कांग्रेसको लाइन छ । कांग्रेस ७७ जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पार्टीले समानुपातिक उम्मेदवार पनि खडा गर्ने उनको भनाइ छ ।
समितिको बिहीबार बस्ने बैठकले समानुपातिकमा पर्ने नामबारे छलफल गर्नेछ । निर्वाचन आयोगको २–३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय सीमा तोकेको छ । बन्द सूची सच्याउने म्याद भने आगामी असोज १६ गतेसम्म तोकेको छ ।