दार्चुला – दार्चुलामा आएको बाढीपहिरोबाट पीडितलाई महाकाली नगरपालिकाले राहत दिने भएको छ । नगरकार्यपालिकाको आकस्मिक बैठकले महाकाली र लास्कु खोलाका बाढी प्रभावित नागरिकलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।
बेपत्तालाई मृतक घोषणा गरेलगत्तै उनिहरुको परिवारलाई समेत राहत उपलब्ध गराइने मेयर नरसिँह चैसिरले बताउनुभयो मृतकको परिवारलाई प्रति मृतक एक लाखका दरले राहत उपलब्ध गराइनेछ । महाकालीमा दुई जना मृतकको शव फेला परेको छ भने १० जना बेपत्ता भएका छन् ।
यस्तै पूर्ण रुपमा घर क्षति भएको परिवारलाई प्रति परिवार ५० हजार रुपैया र जोखिममा रहेका घरपरिवारलाई तत्काल १५ हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको समेत मेयर चैसीरले बताउनुभयो ।
२४ गते राती परेको अविरल वर्षाका कारण लास्कु खोलामा आएको बाढीका कारण महाकाली नगरपालिका वडा १ देखि ४ सम्मका विभिन्न ठाउँमा व्यापक धनजनको क्षेति भएको छ । साथै नगरपालिकाले ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।