कैलाली – स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै डाक्टर गोविन्द केसीले २० औँ अनशन सुरु गरेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा उनले २० औँ अनशन सुरु गरेका हुन् ।
कैलालीको धनगढी पुगेर चिकित्सा शिक्षा अभियन्ता केसीले धनगढीको एलएनचोकमा रहेकाे कृष्ण मन्दिरको धर्मशालामा ६ बुँदे मागसहित अनशन सुरु गरे । सत्याग्रह सुरु गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै उनले पटक–पटक भएका सम्झौता कार्यान्वयन हुन नसकेका कारण २० औँ पटक अनशन बस्नुपरेको बताए ।
सत्याग्रहको क्रममा सादा पानी मात्रै पिउने डा. केसीले बताए । आफ्नाे माग पूरा गर्न सरकारलाई भदौ २८ गतेसम्म अल्टिमेटम दिएको तर सरकारले बेवास्ता गरेकाे उनले आरोप लगाए । प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीकाे भनाइ छ ।
डा. केसीले स्वास्थ्य सेवामा सुधारका लागि देशका सबै सरकारी अस्पतालमा बेड सङ्ख्याअनुसार दरबन्दी बढाउनुपर्ने माग राखे । त्यस्तै जनसङ्ख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने उनको माग छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी, आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गर्न केसीले माग राखेका छन् । त्यसैगरी विभिन्न प्रतिष्ठानमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन अनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउनुपर्ने उनको माग छ । यस्तै यसअघि भएका सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाउनुपर्ने डाक्टर केसीको माग छ ।