काठमाडौं – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले, बैतडीले उम्मेदवारको टुङ्गो लगाएको छ । निर्वाचन क्षेत्रीय कमिटिहरुले बैतडीका दुईओटै प्रदेश सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिश गरेको छ । जसमा प्रदेश सभा क्षेत्र नं (क)बाट जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
यस्तै प्रदेश सभा क्षेत्र नं (ख) बाट केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको नाम सर्वसम्मत सिफारिस भएको छ । भट्ट अहिले पनि प्रदेशसभा सदस्य रहेका छन् ।
सुरेन्द्र पाल २०४६ साल देखि नेपाली राजनीतिमा निस्वार्थ भावले सक्रियताका साथ होमिएर बैतडी कम्युनिस्ट आन्दोलन र दीन दुःख एवं श्रमजीवी वर्गका जनताको लागि महत्वपूर्ण योगदान गरी २०५० सालमा नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्य र २०५४ सालमा तत्कालिन रुद्रेश्वर गाविस अध्यक्षमा निर्वाचित भएका थिए । पाल निर्वाचित भएपश्चात समग्र गाविसको भौतिक एवं आर्थिक विकासको निम्ति अरोरात्र खटीएर विभिन्न आरोह, अवरोह र कठोर परिस्थितिको पनि सामना गर्दै बैतडी कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउन आफ्नो जीवनमा विभिन्न त्याग, सङ्घर्ष र योगदान गर्नुका साथै २०७१ सालमा नेकपा एमाले बैतडी जिल्लाको कार्यवाहक नेतृत्व सम्हालेर २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रका बीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको पनि बैतडी जिल्ला अध्यक्ष भएका थिए ।
पालले अध्यक्ष भएर जिल्लाको समग्र विकासका लागि अतुलनीय, प्रसंसनीय एवं अविस्मरणीय कार्य गरि पटक पटक आम निर्वाचनमा पनि पार्टीलाई र पार्टीका कुशल एवं सक्षम उमेदवारलाई जिताउनको लागि अहोरात्र खटिएर लाग्नुभएका र नेकपा एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भएका थिए । अध्यक्ष भएपश्चात पिछडिएको सुदूरपश्चिमको भूभाग बैतडीको पनि डिलासैनिलाई प्रदेश र केन्द्र सरकारसँग मितव्ययी ढंगले जोडेर बैतडीको आमूल परिवर्तन गर्नमा योगदान गरेका थिए ।