एसिया कपमा पाकिस्तानले भारतलाई हरायो

काठमाडौँ – मोहम्मद रिजवान र मोहम्मद नवाजको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले युएईमा जारी टी-२० एसिया कप २०२२ को सुपर फोरमा भारतमाथि ५ विकेटको रोमान्चक जित निकालेको छ। योसँगै पाकिस्तानले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।

जितको लागि १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम बल अगाडिनै ५ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि ओपनर मोहम्मद रिजवानले ७१ रनको उत्कृष्ट पारी खेले। उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

यस्तै मोहम्मद नवाजले २० बलमा ६ चौका र २ छक्कासहित ४२ रनको बिस्फोटक ब्याटिङ गरे। पाकिस्तानलाई अन्तिम १२ बलमा जितको लागि २६ रन चाहिएको थियो। १९ औं ओभरमा आशिफ अलीले १ छक्का र १ चौकासहित ११ रन जोड्दा खुसदिल साहले १ चौकासहित ६ रन बनाएका थिए। भुवनेश्वर कुमारले एकै ओभरमा एक छक्का र दुई चौकासहित १९ रन खर्चिएपछि भारतको सम्भावना टाढिएको थियो।

अन्तिम ६ बलमा जितको लागि ७ रन चाहिएको थियो। अर्शदीप सिंहलाई दोस्रो बलमा आसिफ अलीले चौका प्रहार गर्दै पाकिस्तानलाई जित नजिक पुर्‍याए। तेस्रो बल डट राखेपछि तीन बलमा दुई रन चाहिएको थियो। चौथो बलमा आसिफ अली एलबीडब्लू आउट भए। तर पाँचौं बलमा इफ्तिखर अहमदले दुई रन जोड्दै जित पक्का गराए। भारतका रवि विश्रोई, अर्शदीपसिंह, भुवनेश्वर कुमार, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले समान एक-एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो। उसका लागि विराट कोहलीले सर्वाधिक ६० रन बनाए। लगातार दोस्रो अर्धसतक प्रहार गर्ने क्रममा कोहलीले ४४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। यसअघि कोहलीले हङकङविरुद्ध ५९ रनको इनिङ खेलेका थिए। यस्तै ओपनरद्वय केएल राहुल र रोहित शर्माले समान २८-२८ रन बनाएका थिए।

उनीहरूले पहिलो विकेटका लागि ५.१ ओभरमा ५४ रन जोड्दै राम्रो सुरूआत दिलाएका थिए। यस्तै दीपक होडाले १६ रन बनाउँदा ऋसव पन्त १४ रन सूर्यकुमार यादवले १३ रन बनाए। हार्दिक पान्ड्या शून्य रनमा आउट भए। पाकिस्तानका शादब खानले २ विकेट लिए। मोहम्मद नवाज, मोहम्मद हसनैन, नसिम साह र हरिस रौफले समान १-१ विकेट लिए।

यसअघि समूह चरणको खेलमा पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो। सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन्। सुपर फोरको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो। भारतले अब मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग खेल्नेछ। पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग खेल्नेछ। शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन्। फाइनल आइतबार हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्