काठमाडौं – आज नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव केहि स्थानमा देखिएपनि काठमाडौँ उपत्यकामा भने खासै देखिएको छैन । छिटफुट घटना भएपनि खासै प्रभाव भने रहेको छैन । सडकमा प्रहरीको उपस्थित बाक्लो छ । पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएकाले सवारी साधन निर्वाध रुपमा सन्चालन गर्न चालकहरुलाई ट्राफिक प्रहरीले अनुरोधसमेत गरेको छ ।
यस्तै दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो । प्रहरी प्रमुख काफ्लेले टिपरमा आगो बन्दकर्ताले लगाएको हो वा अरु कसैले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको छ ।
आज विहान थापागाउँमा नेपाल यातायातको एउटा बसमा ढुंगा प्रहार भएको छ । त्यसअघि बिहान कोटेश्वरको भाटभटेनी नजिक मोटरसाइकलमा सवार एक व्यक्तिले माइक्रो बसमा ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट बा ३ ख ७९०६ नम्बरको माइक्रो बसको अगाडिको सिसा फुटेको छ । कोटेश्वरमै बा ४ ख ९३९४ नम्बरको बसको सिसा पनि फुटाइएको छ ।
बन्दका क्रममा रुपन्देही र कपिलवस्तुको सीमा सैनामैना नगरपालिकालिका ११ मा पर्ने कोठी जंगल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको छ । रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको हो ।
कैलालीको अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ ।
आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महँगी बढेको लगायतका विषयमा विरोध जनाउँदै विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा बन्द आह्वान गरेका छन् ।