काठमाडौं – नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन भएको आठ महिनापछि २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकले महासचिवको जिम्मेवारी देव गुरुङलाई दिएका छन् ।
प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भएका छन् । महासचिवमा दावी गर्दै आएका गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् ।
उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् । यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि भनिएको छ ।