भाईबुहारीको हत्या गर्न ५ लाखको सुपारी, कोहलपुरकै ‘कन्ट्र्याक्ट किलर’

काठमाडौँ – बाँके कोहलपुरको पार्वतीपुरमा एक दम्पत्ती हत्याकाण्डमा संलग्न दुई जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरू दुबै जना नेपालगन्जका हुन्। पक्राउ परेकाहरूले प्रहरी समक्ष घटना स्वीकारिसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुर नगरपालिका–१४ का २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा हत्या गरिएको अवस्थामा फेला परेका थिए।

एक वर्ष पहिले बिहे गरेका गडरिया दम्पत्तीको हत्यामा नेपालगन्ज उपमहानगरपालिका–१९ सूर्यगाउँका १९ वर्षीय राजन सोनकर र वडा नम्बर १८ लकदवाका २६ वर्षीय सकिल अली शेषको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । कृष्णका सहोदर दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा नेपालगन्जकै ‘कन्ट्र्याक्ट किलर’ प्रयोग भएको तथ्य प्रहरीले पत्ता लगाएको हो।

‘डेढ महिना अगाडि नै दुई लाख रुपैयाँ उनीहरूले बुझिसकेका र घटना हुनुभन्दा अघिल्लो दिन ५० हजार दिएको तथ्य प्रहरीले भेटाएको छ । बाँकी साढे दुई लाख केही समयपछि दिने कुरा भएको तथ्य अनुसन्धानबाट खुलोको प्रहरीको भनाई छ ।

पाँच लाखमा भाइ–बुहारीको हत्या गर्न भनेर ‘कन्ट्र्याक्ट किलर’हरूलाई दाजु विजयकुमारले सुपारी दिएर योजना बनाएको तथ्य खुलेको प्रहरीले बताएको छ । पक्राउ परेका राजनबाट कटुवा पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ। राजनले घटना घटाउँदा उक्त नलकटुवा पेस्तोल लगेको भएपनि प्रयोग नभएको र घर नजिकै बारीमा लगेर गाडेको अवस्थामा बरामद भएको हो ।

प्रहरीका अनुसार घटनास्थलमा उक्त पेस्तोलबाट एउटा फायर भएको थियो। गडरिया दम्पत्तीको हत्या घाँटीमा डोरीले कस्दा निस्सासिएर तथा हातको नशापनि काटिएको हुँदा अत्यधिक रक्तश्रावबाट भएको पोष्टमर्टम रिपोर्टबाट देखिएको थियो। सुरूमा हत्या योजनाकार विजयकुमारले भारतीय नागरिकलाई हत्यामा प्रयोग गरेको बयान दिएका थिए। तर राति १० बजेतिर नेपालगन्जकै युवाहरूलाई पाँच लाख रुपैयाँ दिने सर्तमा हत्या गर्न लगाएको बयान गरेपछि प्रहरी हत्यामा संलग्न व्यक्ति कहाँ पुग्न सफल भएको थियो।

पक्राउ परेका कन्ट्र्याक्ट किलरहरूले आफूहरूलाई ५० हजार रुपैयाँ दिएर भाइबुहारीको हत्या गर्न लगाएको बयान दिएका थिए। उनीहरू सबैजनाविरूद्ध अनुसन्धानका लागि जिल्ला अदालतबाट बुधबार ६ दिनको म्याद थप भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्