नेपाल कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन्।
रिक्त प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवार दिएकी सत्ता गठबन्धनकी संयुक्त उम्मेदवार भुसालले १४८ मत पाएर निर्वाचित भइन्।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले ९३ मत पाइन्। शुक्रबार प्रतिनिधि सभामा उपस्थित २४२ सांसदमध्ये १ जना सांसदले मतदान प्रक्रियामा सहभागी भएका थिएनन्। उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन्।
को हुन् भुसाल ?
पुष्पा भुसाल (गौतम) विद्यार्थी राजनीतिबाट उदाएकी नेपाली काँग्रेसकी नेतृ हुन् । राजनीति पृष्ठभूमिमा हुर्किएकी भुसालले काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी थिइन् । काँग्रेसको महिला विभाग, ट्रेड युनियन काँग्रेस र महिला सङ्घको महामन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि भुसाल पार्टी राजनीतिमा आएकी थिइन् ।
काँग्रेस निकट डीएलएमा १० वर्ष कानुनी सल्लाहकार रहेकी उनी केही समय वकालत पेसामा समेत आबद्ध थिइन् । कानुन क्षेत्र छोडेर पूर्णकालीन राजनीतिमा होमिएकी उनी काँग्रेसको १२ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा छन् ।
संसदीय राजनीतिको यात्रामा उतारचढाव भोगेकी उनी यतिबेला काँग्रेस संसदीय दलमा सचेतकको भूमिकामा छिन् । उनी २०६४ सालमा अर्घाखाँची २ बाट सांसदमा निर्वाचित भएकी थिइन् । ०५६ को संसदीय निर्वाचनमा भने सोही क्षेत्रबाट भुसाल पराजित भएकी थिइन् ।
भुषालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी छिन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक भुषालले आधिकारिक रूपमा भने २०३६ मा नेपाल ल क्याम्पसको नेविसङ्घबाट राजनीति सुरु गरेकी थिइन् ।
नेपाल वार एसोसिएसनका केन्द्रीय सदस्य रहिसकेकी भुसालले पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव भएर काम गरिसकेकी छिन् ।
वरिष्ठ अधिवक्ता समेत रहेकी ६१ वर्षीया भुसाल एक छोरीकी आमा हुन् । पुष्पा चर्चित डाक्टर एवं पूर्वराजदूत डा.चोपलाल भुसालकी पत्नी हुन् । राजनीतिक पृष्ठभूमिकी भुसालका बुवा काशीनाथ गौतम २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका थिए ।
२०१७ सालमा राजा महेन्द्रको कदमपछि १४ वर्ष पिता काशीनाथ गौतमसहित भारत निर्वासित भएका थिए । भुषाल २०२८ सालदेखि सक्रिय राजनीतिमा होमिएकी हुन् ।