काठमाडाैं – नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले फोहर बोकेर गएका टिपरलाई अवरोध गरेका छन् । आज बिहान काठमाण्डौको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका सय बढी टिपरलाई स्थानीयवासीले रोकेका हुन् ।
दिनभर टिपर बञ्चरेडाँडा वरपर रोकिएका थिए, बेलुकासम्म पनि प्रहरी र स्थानीयवासीबीचको झडप सामान्य नभएपछि टिपर फोहर बोकेरै काठमाण्डौ फर्किएका हुन् । बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयवासीले ढुङ्गामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन् । सोमवार सहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहर फ्याँक्न दिने सहमति भए पछि हिजोदेखि फोहोर बोकेका गाडी लगिएको भए पनि स्थानीयवासीले अवरोध गरेका हुन् ।