काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि एमालेको हालतमा लैजाने दिन नआओस भन्दै चेतावनी दिएका छन् ।
पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि राखेको प्रशिक्षणका क्रममा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । उनले स्थानीय तहमा धेरै ठाउँ जितेपछि कांग्रेस नेताहरूमा ओलीको जस्तो दम्भ आए जोखिम हुने पनि बताएका छन् ।
“एमालेलाई ठेगान लाएजस्तै कांग्रेसलाई ठेगान लाउने दिन नआओस् । म कांग्रेसका नेताहरूलाई पनि भन्न चाहन्छु धेरै दम्भ तपाईंहरूमा नआओस्,” प्रचण्डले भने, “ओलीका दम्भले एमाले कमजोर हुँदै छ । माओवादीलाई सिध्याइहालिन्छ भन्ने अहंकारले एमाले यो अवस्थामा पुगेको हो ।” उनले स्थानीय तहमा कांग्रेसले धेरै जितेको भन्दै जितलाई अहंकार नबनाउन आग्रह गरे ।
“कांग्रेसले धेरै ठाउँ जित्छ भन्ने त हामीलाई थाहै थियो । तर, त्यसबाटै दम्भ देखाए फेरि एमालेकै अवस्था आउन सक्छ,” प्रचण्डले कार्यकर्तासँग भने, “नारायणकाजीसहितको गठबन्धनको बैठकमा पनि यस्तै अवस्थामा हो भने भन्ने कुरा भएकै छ ।”
उनले आफू र आफ्नो पार्टी अझै पनि गठबन्धनकै पक्षमा रहेको पनि स्पष्ट पारे । “संविधानको रक्षा, लोकतन्त्रको रक्षाका लागि भनेर सुरु गरेको यो गठबन्धन लिएरै जाने हो,” प्रचण्डले भने, “तर, कांग्रेसले हल्कारूपमा नलियोस् ।”