काठमाडौँ – हुवावेले सिड्स फर फ्युचर्स २०२२ को लागि आवदेन खोलेको छ । चिनियाँ प्रविधि कम्पनी हुवावेले नेपालमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिड्स फर द फ्युचर’ कार्यक्रम दोस्रो पटक गर्न लागेको हो । यस अघि कम्पनीले सिड्स फर फ्युचर्स २०२१ को आयोजना गरी सफलतापुर्वक सम्पन्न गरेको छ । गत वर्ष १९ विद्यार्थी उक्त कार्यक्रममा सहभागी थिए । उनीहरुलाई अनलाइन कक्षासहित घान्द्रुकको भ्रमण गराएको थियो । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कम्नपनीले सो जानकरी दिएको हो ।
कम्पनीले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को क्षेत्रमा स्नातक तह अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूबाट आवेदन आह्वान गरेको छ । आवेदन दिएका मध्ये ७ जना कार्यक्रमका लािग छनोट हुनेछन् । छनोट भएको विद्यार्थीह क्षेत्रीय कार्यक्रमका लागि बैंककमा जान पाउनेछन् । आईटीसँग सम्बन्धित स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थीले जुन २६ सम्म अप्लाई गर्नुपर्नेछ ।
स्नातक प्रथम सेमेस्टरदेखि आठौँ सेमेस्टर अध्ययन गरिरहेका वा आठौँ सेमेस्टर अध्ययन सकी रिजल्ट नआएका विद्यार्थीले सिड्स फर द फ्युचर्स कार्यक्रममा सहभागी हुन पाउनेछन् । सहभागिताको लागि सिड्स नेपाल डट कम (www.seedsnepal.com) बाट आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ । बैंककमा तालिमपश्चात् आफ्नो आइडिया प्रस्तुत गर्नुपर्नेछ । त्यहाँ उत्कृष्ट भए सिंगापुरको कार्यक्रममा भाग लिन पाउनेछन् । नेपालमा छनोट भएका विद्यार्थी अगस्ट १९ देखि २७ सम्म बैंककमा जान पाउनेछन् । विद्यार्थीहरुको खर्च हुवावे आफैँले व्यहोर्नेछ ।
अघिल्लो वर्ष १३६ जनाले आवेदन दिएकोमा २० विद्यार्थी छनोट भएका थिए । एक जना विद्यार्थी अनुपस्थित भएसँगै १९ विद्यार्थीले आईटीसम्बन्धी नयाँ प्रविधिको विषयमा तालिम प्राप्त गरेका थिए ।
हुवावेले बैंकक जाने विद्यार्थी छनोटका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्रोफेसर रहेको छनोन समिति बनाएको छ । समितिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशी, प्राध्यापक डाक्टर सुवर्ण शाक्य, प्राध्यापक तिमिला यमी शाक्य र काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर मनिस पोखरेल रहेका छन् ।
देशभरका विद्यार्थीबाट आएका आवेदन हुवावेको टिमले २० जनाको विद्यार्थी छनोट गर्नेछ । उक्त २० जना विद्यार्थीमध्ये ७ जना प्रोफेसर सम्मिलित छटोन समितिले गर्नेछ । आवेदनको लागि विद्यार्थीले ५–६ सय शब्दको आईसीटी क्षेत्रसम्बन्धी निबन्ध प्रस्तुत गर्नुपर्ने कम्पनीले जनाएको छ।