यार्सागुम्बा संकलकले फेला पारेका थिए दुर्घटनाग्रस्त अवस्थामा तारा एयरको विमान

File Photo

काठमडौँ — आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर खोजी तथा उद्धारमा खटिएको टोली त्यहाँसम्म पुग्न सकेको थिएन ।

सोमबार बिहान त्यही क्षेत्रमा दुर्घटनाग्रस्त जहाज किसानहरुले फेला पारेको शर्माले बताए । उनका अनुसार मानापाथी हिमालको फेदीमा २८ कात्तिकमा हिमपहिरो गएकै स्थान नजिकै दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको हो । ‘त्यहाँको तस्वीर प्राप्त भएपछि हवाई उद्धार टोली पठाइसकेका छौं’ शर्माले भने, ‘स्थलमार्गबाट पनि टोली गइसकेको छ ।’

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो । ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्