वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै

वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ ।

मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तथा सम्बद्ध सबैमा अपिल गरेको छ । आयोगले आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । यसअघि चुनावमा उम्मेदवारको मनोनयन दर्ताका लागि एक दिन तोके पनि मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतलाई चाप धान्न कठिन भएकाले यसपालि दुई दिन समय निर्धारण गरेको आयोगको भनाइ छ ।

आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, भोलि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पर्सि १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।

त्यसैगरी, १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्