दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका लागि ६ जनाले अडान राखेपछि सहमति जुटाउन सकस भएको छ । सबै आकांक्षीले आ–आफ्नो अडान नछोडेपछि पार्टी सभापतिलाई सहमति गराउन असहज भएको हो । कांग्रेसबाट लेकम–६ का उत्तम नाथ, लेकम–१ का इन्द्र साउद, लेकम–५ का विष्णुदत्त मिश्र, लेकम–३ का राजेन्द्र जोशी, लेकम–३ कै मोहनदेव जोशी र लेकम–२ बाट पनि आकांक्षी देखिएकाले सहमति जुटाउन सकस देखिएको छ ।
गत २८ गते सहमतिका लागि बसेको पालिका कमिटी बैठकले सहमति जुटाउन नसकेपछि बैठक सकिएको थियो । इन्द्र साउद र उत्तम नाथबीच सहमति भए आफुहरु समेत सहमतिको बाटोमा आउने विष्णुदत्त मिश्रले बताउनुभयो । मिश्रले भन्नुभयो “दुईजनाबीच सहमति नहुनेभएपछि म राजेन्द्र जोशीसँग सहमति गरेर उम्मेदवार टुंगो लगाउछु तपाईहरु उम्मेदवार नहुनुहोस् ।” यसरी नै सहमति नभएपछि शनिवारको बैठक पनि विना निष्कर्ष टुंगिएको हो ।
यस्तै उपाध्यमा उम्मेदवार सुना जोशीको सम्भावना प्रबल रहेको छ । लेकमको वडा नम्बर १ मा महादेब साउँद र वडा नम्बर ६ मा वर्तमान वडाअध्यक्ष कमलापती मिश्र र वडा नम्बर ४ मा वर्तमान वडाअध्यक्ष महेन्द्रराज जोशीलाई नै वडाअध्यक्षको उम्मेदवार बनाउने लाई वडाअध्यक्षको उम्मेदवार बनाउने सहमति भइसकेको नेपाली कांग्रेस लेकम गाउँ कार्यसमितिले जनाएको छ । वडा नम्बर २, ३, र ५ मा सहमति जुट्न बाँकी रहेको छ ।