काठमाडौं महानगरपालिकाको मेयरका लागि एमालेबाट पाँच जना सिफारिस

काठमाडौँ – नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको छ ।

शाक्य ०७४ को स्थानीय चुनावमा मेयर जितेका थिए । उनले फेरि एक कार्यकाल आफैँ दोहो¥याउने भन्दै उम्मेदवार बन्न इच्छा देखाएका छन् । पूर्वमन्त्री मानन्धर पनि मेयरको दौडमा छन् ।

बागमती प्रदेश सभा सदस्य स्थापित पनि मेयर हुन खोजिरहेका छन् । उनले वडा–वडा पुगेर जनताका समस्या र पार्टीले गर्नुपर्ने कामबारे छलफल गर्दै आएको बताइरहेका छन् ।

नगर कमिटी अध्यक्ष देउला र जिल्ला कमिटी सदस्य पन्त पनि मेयरका लागि पहल गरिरहेका छन् । यी पाँच जनाको नाम जिल्ला कमिटीमा पठाइएको र त्यहाँबाट केन्द्रमा सिफारिस गरिनेछ । जिल्लाले उम्मेदवार सिफारिसमा परेकाबारे रायसहित प्रदेशलाई जानकारी दिनेछ । प्रदेशले नाम केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवार तय गर्नेछ ।

उपमेयरमा भने नाम सिफारिस भइसकेको छैन । अध्यक्ष देउलाले उपमेयरका लागि छलफल भइरहेको बताए । महानगरका १६ वडाका लागि वडाध्यक्षमा नाम तय गरिसकिएको पनि उनले बताए । अरू वडाका लागि छलफल जारी रहेको उनको भनाइ छ ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्नुपर्ने हुन्छ । एमालेले स्थानीय तहमा सर्वसम्मत तरिकाले उम्मेदवार छान्ने भने पनि पहिले आफूले जितेका क्षेत्रमा भने एकभन्दा बढीका नाम सिफारिस भइरहेका छन् ।

आकांक्षी धेरै हुँदा आन्तरिक मतदान गरी उम्मेदवार सिफारिससमेत हुन थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्