कञ्चनपुर – नेकपा एमालेबाट कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर प्रमुखमा निर्वाचित अशोककुमार चन्दसहित जनप्रतिनिधिको प्यानल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको छ । आईतबार बेदकोट नगरपालिकाको दैजीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर प्रमुख चन्दसहित एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
उहाँहरूलाई अध्यक्ष नेपालले स्वागत गरेका थिए । नेकपा एमाले कञ्चनपुर जिल्ला समितिको कार्यशैली तथा सिंगो एमालेको एकलौटी निर्णय चित्त नबुझेकोले आफुले पार्टी परित्याग गरेको समेत मेयर चन्दले प्रष्ट पार्नुभयो ।
मेयर चन्दसँगै वडाध्यक्ष तिलक ठकुल्ला, भास्कर भट्ट, वीरबहादुर डगौरा, दुर्गासिंह भण्डारी र अर्का अध्यक्ष केशव रावल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
त्यस्तै नगर कार्यपालिकाका १८ जनामध्ये मेयर सहित ५ वडाध्यक्ष र ७ कार्यपालिका सदस्य सहित १३ जनाले पार्टी प्रवेश गरेको हो । यस्तै वडा सदस्य १६ जना गरि जम्मा २९ जनाले समाजवादीमा प्रवेश गरेका हुन् ।
वेदकोटमा एमालेले मेयर, उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा वडाध्यक्ष जितेको हो। उपमेयर सुशीला सिंह भने एमालेमै रहनुभएको छ ।