काठमाडौं । भूमिगत अवस्थामा रहेको माओवादीको विद्यार्थी फाँटमा रहेर काम गरेका विकास लामिछाने जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमका बीच लामिछाने जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । नेपाली सञ्चारमाध्यममा लामो समयदेखि क्रियाशील सञ्चारउद्यमी लामिछाने गोरखाका स्थायी बासिन्दा तथा एपीवान टेलिभिजनका पूर्वमहाप्रबन्धक हुन् ।
लामिछानेको नेतृत्वमा रोशन बस्नेत, टीका सिम्खडा, सञ्जु राई, गौतम लामिछाने, विक्की लामा, मिङ्माछिरिङ लामा, अशोक लामा, रुषेश लामासहित अन्य ३५ जनाले जसपाको सदस्यता लिएका छन् । नवप्रवेशीको तर्फबाट बोल्दै विकास लामिछानेले अहिलेको अवस्थामा जसपा समावेशीसहितको संघीयता, सुशासन, समृद्धि, र समाजवादको एकमात्र वैकल्पिक राजनीतिक पार्टी भएकोले आफू जसपामा प्रवेश गरेको बताए ।
२०५६ सालमा उनले जिम्मेवारी लिएको कलेजको स्वतन्त्र विद्यार्थी युनियनमा भूमिगत अवस्थामा रहेको माओवादीको विद्यार्थी फाँट (अखिल क्रान्तिकारी) को प्यानल नै निर्विरोध निर्वाचित गराउनका लागि भूमिका खेलेका थिए । संविधानसभा अघि माओवादी पार्टी खुला राजनीतिमा प्रवेश गरेपछि लामिछाने सञ्चारकर्मको क्षेत्रमा अघि बढेका थिए । झन्डै डेढ दशकदेखि विज्ञापन व्यवसायमा संलग्न लामिछाने सञ्चारमाध्यममा पनि आबद्ध छन् । अहिले भने उनी ‘मिडिया मन्त्र’ नामक विज्ञापन एजेन्सी सञ्चालन गर्छन् ।