काठमाडौं – नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज जित हात पारी समूह बी बाट विजेता बन्दै टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमै पूरा गरेको हो ।
अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । विजयी हुने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छ । नेपाल समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने लागेको हो । यूएई बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह ‘ए’ बाट उपविजेता भएर सेमिफाइनल पुगेको हो ।
आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ विजेता आयरल्यान्डले समूह ‘बी’ को उपविजेता ओमानसँग अर्को सेमिफाइनल खेल्ने छ । घरेलु टोली ओमानले फिलिपिन्सलाई ९ विकेटले पराजित गर्यो । फिलिपिन्सलाई ३६ रनमै अलआउट गर्दै ओमानले २.५ ओभरमा ४० रन बनाउँदै सजिलो विजय हात पारेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्बाधिक ३४ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे । दीपेन्द्रले २७ रनको योगदान गरे । कुशलले अघिल्लो खेलमा फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय पारी खेलेका थिए ।
३.६ ओभरमा ओपनर आसिफ शेख व्यक्तिगत १७ रनमा आउट भएपछि आएका कुशल मल्लले रनको खाता नखोली आउट भए । बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नजरले १/१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा अटआउट हुँदै ८० रनमा सीमित भएको थियो । क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने कमलसिंह ऐरी र अविनाश बोहराले २–२ तथा कुशल मल्लले १ विकेट लिएका थिए ।